ओली समूहको धम्कीका बाबजुत नेपाल-खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्दै
मकवानपुर । नेकपा (एमाले) को माधवकुमार नेपाल–झलनाथ समूहले आज र भोलि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ ।
भेलामा देशभरमा दुई हजार जना अगुवा कार्यकर्ताको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सर्वोच्च अदालतको फैसलाले एकीकृत बनेको नेकपालाई पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा ब्युँताइदिएपछि एमालेमा आन्तरिक विवाद बढेको छ । नेकपामा एकलौटी रुपमा अघि बढ्दै प्रतिनिधीसभा विघठन गरेका ओली एमाले ब्युँतिएपछि पनि पार्टीमा बल मिचाईपूर्वक अघि बढेको भन्दै नेपाल–खनाल पक्ष चिढिएको छ । एमाले ओली समूहले फागुन २८ एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएपछि पार्टी समानान्तर रुपमा अघि बढ्न थालेको छ । पार्टीका यही विवादको कारण नेपाल–खनाल समूह राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने स्थिती आएको बताउँछ ।
पार्टी विवादबारे छलफल गरी समाधानको प्रयास गर्ने भनि सोमबार ओली र नेपाल समूहबीच छलफल भएपनि निकास निस्कन सकेन । वार्तामा ओलीले आफ्नो निर्णय पुनर्विचार नहुने बताएपछि नेपाल-खनाल समूहले पनि आफ्नो अभियान नरोकिने बताएको थियो ।
मंगलबार प्रधानमन्त्री ओलीले आयोजना गरेको चियापान कार्यक्रम पनि एमालेको नेपाल–खनाल समूहले बहिस्कार गरेको थियो । चियापान कार्यक्रममा पनि ओलीले राष्ट्रिय कार्यकर्ता भेला नगर्न धम्की दिएका छन् । उनले त्यसरी भेला गरिए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिए ।
राष्ट्रिय भेलाप्रति ओली समूहले विज्ञप्ति निकालेर नेकपा (एमाले)ले कुनै पनि भेला आयोजना नगरेको भन्दै नेपाल समूहले जारी गरेको भेलाबारेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्’ यस्तो अनाधिकृत गुटगत भेला नगर्न÷नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता/कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ,’ उनले चेतावनी दिँदै भनेका छन्,’अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’
ओली समूहको चेतावनीको बाबजुत नेपाल–खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्दै पार्टीलाई एकताबद्द बनाउँन आव्हान गर्ने जनाएको छ ।












































