हाम्रो माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ : जसपा नेता कर्ण

मकवानपुर । जनता समाजवादी पार्टी जसपा का नेता लक्ष्मणलाल कर्णले आफूहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको बताउनुभएको छ ।
सिंहदरबारमा बुधवार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान संसोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दालाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको बताउनुभएको हो ।
राजनीतिक दलबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरूको मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको बताउनुभएको हो । प्रतिनिधि सभा पुनर्स्थापनालगत्तै सर्वोच्च अदालतको फैसलाबाट नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै अवस्थामा फर्किएपछि दलहरूबीच सरकार गठनको कसरत तीव्र बनेको छ । नेता कर्णले सबै दलसँग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताउनुभयो ।
जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गर्नुभयो । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न–भिन्न भएको भन्दै उहाँले अरू दलको आड लिएर नेतृत्वमा पुग्न नहुने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरूको हत्केलामा हुन्छ । अरूको हत्केलामा भएको सरकार जुन बेला पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ । त्यस कारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो र सरकारै चलाउने विषय झन् अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन ।’ उज्यालोखबर डटकमबाट