माधव नेपाल समूहमा सहभागी नेताहरूको एउटै भनाइ : ओली सच्चिनुपर्ने
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीएमाले माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा एमाले माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ। राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति छ। भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा एमालेका नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताए। भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओलीलगायत आम नेता, कार्यकर्तालाई आह्वान गर्ने उनको भनाइ छ। वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफूहरुको जोड रहेको पनि उनले बताए।
नेकपा एमाले का नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए। नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ।
नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरुसहित अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए।
नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन्। एमालेलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उनको भनाइ छ।
नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छोडेको आरोप लगाए। ओली गुटपरस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाइ छ।
नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफुहरु पनि गल्ती सच्याउन तयार रहेको बताए।
पार्टीमा ओलीले एकलौटी गरेको भन्दै नेकपा एमाले माधव नेपाल समूले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो।थाहाखबर डटकमबाट












































