‘बालुवाटार(सिंहदरबारतिर घुम्ने भइएको थियो, सडकमा पुर्याइदिएपछि निकै शक्तिशाली महशुस भएको छ’
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनमा होमिएपछि आफू थप शक्तिशाली भएको महशुस गरेको दाबी गरेका छन् ।
जनताको अधिकार रक्षाका लागि जीवनभर नै लडिरहने पनि उनले बताए । ५६ औं अन्तर्राष्ट्रिय रंगभेद विरुद्धको दिवसका अवसरमा नेपाल दलित मुक्ति मोर्चाले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सडकमा जाँदा शक्तिशाली जस्तो महशुस भएको बताएका हुन् ।
‘मैले फेरि पनि धन्यवाद भनेको छु केपीजीलाई किनभने हामी त बालुवाटारवरिपरि, सिंहदरबारवरिपरि घुम्नेवाला भइएको थियो, उहाँले संसद् विघटन गरेर सडकमा पुर्याउनुभयो के । सडकमा जनता भएको ठाउँमा जाऊ भन्दिनुभयो के । हामीलाई फेरि दलिततिर, आदिवासी जनतातिर, मजदुर किसानतिर, नेपाली जनताको ठाउँमा लगेर फाल्दिनुभयो । उहाँले त हामीलाई सिध्याउन खोजेको हो । परिस्थिति के भयो भने फेरि हामी आफूमा लागेको धूलोमैलो टक्टक्याउँदै आफूमा फोहर भएको छ भने न्वाइध्वाइ गरेर फेरि जनताको मुद्दामा लगाई लड्ने ठाउँमा पुर्याइदिनुभयो,’ प्रचण्डले भने, ‘म त अहिले निकै शक्तिशाली भएको जस्तो लागेको छ, पुस ५ गतेपछि त । जनताको प्रतिनिधिका रूपमा लडाईं लड्ने अवसर प्राप्त भयो ।’
प्रचण्डले आफूले केपी ओलीसँग आत्मसमर्पण गरेर नगएको र आफैँले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरेको दाबी गरे ।
‘आत्मसमर्पण गरेर एकता गरेको होइन नि, आलोपालो अध्यक्ष, आलोपालो प्रधानमन्त्रीमा सहमति गरेर एकता गरेको हो । पछि केपीले जब षड्यन्त्र गर्न लागे, पार्टीभित्र विधि तथा पद्धति बिगारेपछि विद्रोहको झण्डा कसले उठायो संसद् विघटन गरेपछि होइन नि १९ बुँदे पत्र,’ प्रचण्डले भने ।
उनले त्यो पत्र फेरि एकपटक बढ्न पनि सुझाव दिए ।लोकान्तर खबर डटकमबाट