भक्तपुरमा ग्यास सिलिन्डर पड्किँदा आधादर्जन मानिस घाइते

लोकखबर
९ चैत्र २०७७, सोमबार १२:०७

मकवानपुर । सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित शिवलाल कस्पालको ४ तले पक्की घरमा आइतबार साँझ ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते भएका छन्।
कस्पालको ४ तले पक्की घरको पहिलो तलामा रहेको भीमेश्वर मःमः एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा आइतबार साँझ ग्यास सिलिन्डर पड्केर आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
आगलागीबाट होटल संचालक टिकाराम बस्नेत र ग्राहकहरू समेत ६ जना घाइते भएको हुँदा उनीहरू ६ जनालाई नै उपचारार्थ डा। ईवामुरा मेमोरियल अस्पताल सल्लाघारी र मध्यपुर अस्पताल ठिमी पठाइएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन्।
होटल संचालक दोलखाको सैलुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टिकाराम बस्नेत, संचालकको आफन्तहरू हाल काठमाडौं कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की, ३९ वर्षीया गीता कार्कीको डा। ईवामुरामा पठाइएको भएपनि थप उपचारका लागि उनीहरूलाई कीर्तिपुरको बर्न सेन्टर अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
ग्राहकहरू झापाको विश्वशान्ति गाउँपालिका–२ घर भई हाल सल्लाघारी भक्तपुर बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा मध्यपुर अस्पतालमा पठाइएको भएपनि थप उपचारका लागि उनीहरूलाई पनि कीर्तिपुरको बर्न सेन्टर अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
आगोमा २ वटा फ्रिज, १ थान ढोका र १ थान झ्याल जलेको प्रहरीले जनाएको छ। दमकल सहित प्रहरी टोली र स्थानीयको सहयोगमा झण्डै २० मिनेटपछि आगलागी नियन्त्रणमा लिएको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*