कीर्गिस्तानको युवा टिमलाई हराए नेपाल फाइनलमा
मकवानपुर । थ्री नेसन्स कपमा आयोजक नेपालले बिहीबार कीर्गिस्तानको यु(२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ। कीर्गिस्तानलाई पराजित गरे नेपाल र बंगलादेश एक खेल अघि नै फाइनलमा पुग्नेछन्।
दशरथ रंगशालामा नेपालले आफ्नो पहिलो खेल कीर्गिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ। बेलुका ५ः३० बजे सुरु हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा नै कीर्गिस्तानको यु–२३ टिमलाई हराए फाइनलमा स्थान बनाउने छ।
यता, कीर्गिस्तानको यु–२३ टिम भने पराजित भए प्रतियोगिताबाटै बाहिरिनेछ। तर, कीर्गिस्तानको युवा टिम पनि नेपाललाई पराजित गर्दै फाइनल पुग्ने आफ्नो यात्रालाई कायमै राख्न चाहन्छ।
मंगलबारदेखि सुरु भएको थ्री नेसन्स कपको उद्घाटन खेलमा बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमलाई पराजित गर्दै फाइनल पुग्ने बलियो सम्भावना बनाइसकेको छ। खेलको ३०औं मिनेटमा मोहम्मद सादउद्धिनको क्रसलाई बचाउन खोज्दा कुमारबाज उलु बाइयामानले आफ्नै पोष्टमा गोल गरेपछि बांलादेशसँग कीर्गिस्तान १–० गोलले पराजित भएको थियो।
त्यसो त, थ्री नेसन्स लिग खेल्न आइलिग खेलिरहेका कप्तान किरण चेम्जोङ सोमबार नै नेपाल आइसकेका छन्। अर्का फरवार्ड अभिषेक रिजाल पनि आइलिग नै खेलिरहेका थिए। थ्री नेसन्स कपकै लागि उनी पनि भारतबाट नेपाल फर्किइसकेका छन्। नेपालले किरण चेम्जोङकै कप्तानीमा प्रतियोगिता खेल्न लागेको हो।
लामो समयदेखि तयारी गरिरहेको कारण नतिजा राम्रो आउनेमा प्रशिक्षक बालगोपाल महर्जन ढुक्क छन्। प्रशिक्षक महर्जनले भनेका छन्, ‘राम्रो खेलपछि नतिजा त अवश्य पनि आइ नै हाल्छ। विश्वकप छनोट खेलको तयारीका रुपमा नै यसलाई लिएका छौं। विश्वकप छनोटकै लागि तीन महिनादेखि गरिरहेको तयारीका कारण यो प्रतियोगितामा राम्रो गर्नेछौं भन्ने विश्वास छ।’
यता, कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले बंगलादेशविरुद्ध खेलाडीबीच तालमेल नमिल्दा हार भोगेको बताउँदै नेपालविरुद्धको खेलमा भने कमजोरी सुधार गर्ने बताए।
१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
कोरोनाको मापदण्ड
नेपाली दर्शक दशरथ रंगशालामा राष्ट्रिय टिमको खेल हेर्न भोका छन्। सन् २०१५ को मार्च १७ तारिखमा नेपालले विश्वकप छनोटमा भारतसँग खेलेको थियो। त्यसपछि भने भूकम्पको कारण दशरथ रंगशालामा ठूलो क्षति पुग्यो। दशरथ रंगशाला पुनःनिर्माण भएको एक वर्ष बढी भएपनि यो रंगशालामा राष्ट्रिय सिनियर टिमले ६ वर्षपछि खेल खेल्न लागेको हो।
लामो समयपछि रंगशालामा खेल्न पाउने भएपछि राष्ट्रिय टिमका खेलाडी उत्साहित छन्। नेपाली टिमका उपकप्तान रोहित चन्द भन्छन्, ‘रंगशालमा खेल्ने उत्साह त धेरै नै छ। त्यहाँ नखेलेको धेरै नै भइसकेको छ। टिममा युवा खेलाडीको नै बर्चस्व छ अहिले। सबै सकारात्मक नै छन्।’
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले खेल हेर्न १२ हजार दर्शकलाई रंगशालामा प्रवेश गर्न दिने तय गरेको छ। तर, पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण झनै बढेपछि धेरै दर्शक मैदानमा प्रवेश गराउँदा कतै महामारी फैलिने त होइनरु डर पनि उतिकै छ।
गत चैत ८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या ह्वातै बढेको र नेपालमा यसको असर पर्ने भन्दै सजग हुन भनेको थियो। स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत केही हप्तादेखि विश्वभरि खासगरी छिमेकी देशहरुमा कोभिड(१९ को संक्रमण बढ्दो क्रममा देखिएको छ। नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नू।’
त्यसो त, रंगशालाको क्षमता १५ हजारको हो। तीन हजार भने सामाजिक दूरी कायम राख्नका लागि छुट्याइएको एन्फाले जनाएको छ। ‘१५ हजारमा १२ हजार मात्रै दर्शकलाई प्रवेश गराउँदा तीन हजार सिट खाली रहन्छ। यसले सामाजिक दूरी कायम हुन्छ’, अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता किरण राई भन्छन्।
एन्फाले कोरोना संक्रमण हुनबाट बच्नका लागि रंगशालामा प्रवेश गर्ने सबैले अनिवार्य मास्क र स्यानिटाइजर लगाउनु पर्ने शर्त राखेको छ। त्यस्तै, तापक्रम नाप्ने र सामाजिक दूरी कायम गरी बस्न समेत सबैलाई एन्फाले आग्रह गरेको छ।नेपाललाइभ डटकमबाट