मेरुदण्ड पक्षघात भएका देशभरका व्यक्तिहरु काठमाडौंमा
मकवानपुर ।मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूको राष्ट्रिय भेला काठमाडौंमा जारी छ। मंगलबारदेखि सुरु भएको भेला बिहीबारसम्म चल्नेछ।
मेरुदण्डीय पक्षघात समूह नेपालले भेलाको आयोजना गरेको हो। भेलामा सात वटै प्रदेशबाट प्रतिनिधिमुलक रुपमा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरु सहभागी छन्।
मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको क्षमता बढाउने, उनीहरुलाई नेतृत्व विकासको तालीम दिने, राज्यले प्रदान गरेका अधिकार र स्वास्थ्यको हेरचाहलगायत विषयमा तालिम दिइने मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालले बताए।
भेलामा सहभागीहरूले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्याहरू हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन्। भेलामा सहभागी अन्जु बरालले उपचार तथा स्वास्थ्य सामग्री सहजै उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।
मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई आफूले सिकेको सीप र तालीमबारे आफ्नो प्रदेशमा गएर कार्यक्रम र तालीम सञ्चालन गर्ने सहभागीहरूले बताएका छन्। नेपाललाइभ डटकमबाट