म्यानमारसँगको व्यापार सम्झौता स्थगित गर्ने अमेरिकाको घोषणा

लोकखबर
२०७७ चैत्र १७, मंगलवार १५:४५

मकवानपुर । अमेरिकाले म्यानमारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यानमारसँगको व्यापार सम्झौता स्थगित गर्ने घोषणा गरेका छ।
गत फेब्रुअरी १ मा म्यानमारको सेनाले ‘कू’ गरेसँगै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गर्दै आएको छ। सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान सू की र अन्य नेताहरुलाई नजरबन्दमा राखेको छ।
अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले जारी गरेको विज्ञप्तिमा म्यानमारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको उल्लेख छ।
उक्त सम्झौता बमोजिम दुई मुलुकले म्यानमारको अर्थतन्त्रलाई विश्व व्यापारसँग एकीकृत गर्ने प्रयासस्वरुप व्यापार र लगानीका विषयमा सहकार्य हुँदै आएको छ। म्यानमारको सेनाले लोकतान्त्रिक शासन व्यवस्थालाई समर्थन जनाएपछि उक्त सम्झौता गरिएको थियो। तर, अमेरिकी व्यापार प्रतिनिधि ताईको सोमबारको घोषणाबाट दुई मुलुकबीचको व्यापार भने तत्काल रोकिने छैन।
अमेरिकाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्वहाली भएको हेर्न चाहेको विज्ञप्तिमा उल्लेख छ।
‘शान्तिपूर्ण प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेताहरु, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तर्राष्ट्रिय समुदायलाई हतप्रभ बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्वहाली भएको हेर्न चाहन्छौं।’
म्यानमार र अमेरिकाबीचको व्यापार त्यति ठूलो छैन। गत वर्ष अमेरिकाले म्यानमारतर्फ करिब ३३ करोड ८० लाख डलरको सामग्री निर्यात गरेको थियो भने करिब एक अर्ब डलर बराबरको आयात गरेको थियो।
तर, अमेरिका र अन्य विकसित मुलुकहरु म्यानमारका तयारी पोशाकका प्रमुख खरिदकर्ता रहेका छन्। यी कारखानाहरु अधिकांश विदेशीले खोलेका छन्। यी कारखानाले गरिबीको चपेटामा परेको म्यानमारमा लाखौंलाई रोजगारी उपलब्ध गराएका थिए।
त्यहीपनि अमेरिकाले म्यानमारमाथि अलग्गै प्रतिबन्धहरु लगाउँदैछ। अमेरिका र बेलायतले म्यानमारको सेनाको नियन्त्रणमा रहेका दुई ठूला व्यापारिक कम्पनीहरु म्यानमार इकोनोमिक होल्डिङ्स लिमिटेड र म्यानमार इकोनोमिक कर्पोरेसनमाथि प्रतिबन्ध लगाइसकेका छन्।
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यानमारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिएका छिन्।नेपाललाइभ डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको