झापामा हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु

लोकखबर
२०७७ चैत्र २०, शुक्रबार १२:३१

मकवानपुर । हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत झापामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ। झापाका १५ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए।
भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार बिहान वडा नम्बर १० मा आयोजना गरेको एक कार्यक्रमबीच अभियान सुरु गरिएको हो। जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पीताम्बर ठाकुरले संयुक्त रुपमा हात्तीपाइलेको औषधि खाएर अभियान सुरु गरेका हुन्।
समन्वय समितिका अध्यक्ष पोर्तेलले जिल्लावासीले हात्तीपाइलेको औषधि खाएर अभियान सफल बनाइदिन आग्रह गरेका छन्। त्यस्तै‚ नगरप्रमुख श्रेष्ठले हात्तीपाइलेविरुद्धको औषधि नखाने नगरवासीको पहिचान गरी सेवा सुविधा रोक लगाउने बताए।
झापाका कुल नौ लाख ३३ हजार जनसंख्यामध्ये आठ लाख चार हजार ५७ जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले बताए। चैत मसान्तसम्म औषधि खुवाउने अभियानका लागि ६०० जना स्वास्थ्यकर्मी र सोही संख्यामा महिला स्वयंसेविका परिचालन गरिएको जानकारी दिए। क्यान्सरभन्दा घातक रोग हात्तीपाइले भएकाले सबैले औषधि खानु पर्ने उनले बताए।
झापामा आर्थिक वर्ष २०७६र७७ मा ५५४ जना हात्तीपाइलेका रोगी भेटिएको स्वास्थ्य कार्यालय झापाका तथ्यांकमा उल्लेख छ। तीमध्ये हाइड्रसिल भएका ३७२ जना, हात र स्तन सुन्निएका ११० जना र खुट्टा सुन्निएका ७२ जना रहेका छन्।
यस वर्ष प्रदेश १ का झापा, मोरङ र ओखलढुंगामा हात्तीपाइलेको औषधि खुवाइँदै छ। प्रदेश १ का चार जिल्लामा हात्तीपाइलेका बिरामी नरहेको र सात जिल्लामा निवारण भइसकेकोले तीन जिल्ला प्राथमिकता परेको जनाइएको छ। नेपालका ६३ जिल्ला हात्तीपाइले रोगको जोखिम रहेकोमा ५१ जिल्लामा निवारण भइसकेको छ। नेपालमा सन् २०१९ मा हात्तीपाइले रोगको निवारण १ दशमलव ४७ प्रतिशत रहेको उल्लेख छ।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको