कोरोनाको संक्रमणबाट जोगिन मकवानपुरमा यस्तो तयारी

लोकखबर
१५ बैशाख २०७८, बुधबार ०६:५२

मकवानपुर । मकवानपुर पनि कोरोना संक्रमणको जोखिममा छ । दैनिकजसो संक्रमित थपिइरहेका छन् । संक्रमित हुने दर बढिरहेको छ । मंगलबार हिजो पनि ३८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक, कोभिड १९ का फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए । फोकल पर्सन चौलागाईंका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३६ जना, मकवानपुरगढी गाउपालिकाको एक जना र हेटौंडा बसोबास गर्ने बाराका एकजना छन् । संक्रमण पुष्टि हुने क्रममा हेटौंडा उपमहानगरका संख्या धेरै हुनुले पनि हेटौंडामा भाइरस संक्रमणको जोखिम बढेको बताइन्छ ।

कोरोनाबाट बच्नका लागि मकवानपुरका स्थानीय तहमा अक्सिजन सहितको आइसोलेसन वार्डको तयारी गरिएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये ८ वटा तहमा अक्सिजन सहितको आईसोलेशन व्यवस्थापन भइसकेको र एक स्थानीय तहमा भने चाँडै व्यवस्थापन गरिने तयारी भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । समन्वय समितिका प्रमुख रघुनाथ खुलालले दोस्रो लहरको कोरोना संक्रमणबाट नागरिकलाई सुरक्षित राख्नका लागि स्थानीय तहहरुसंग आफूहरुले समन्वय गरिरहेको बताए ।
कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि हेटौंडा उपमहानगरपालिकाले १ सय २० वार्डको आइसोलेशन सन्चालनमा ल्याएको छ ।

यो आइसोलेशन संक्रमितका लागि उपयुक्त र सुविधा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

बागमती गाउँपालिकाले १० बेड, बकैया गाउँपालिकाले २० बेड, मकवानपुरगढी गाउँपालिकाले १५, इन्द्रसरोवर गाउँपालिकाले १२, थाहा नगरपालिकाले चालु अवस्थामा २० र तयारी थप २० गरि ४०, कैलाश गाउँपालिकाले १० तथा अबको एक हप्तामा प्रयोग हुने गरी राक्सीराङ गाउँपालिकाले २० बेडको आइसोलेशन तयार गरेको प्रमुख खुलालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम रोक्न सेवाग्राहीको अत्याधिक भीड हुने भन्दै राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको आन्तरिक कार्य बाहेक अन्य सबै प्रकारका सेवा आज वैशाख १५ गतेदेखि अर्को सूचना नभएसम्म बन्द गर्न भनेको छ । मंगलबार बसेको बैठकबाट प्रशासनले यस्तो निर्णय लिएको हो । यस्तै, प्रशासनले जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई आलोपालो गरेर सञ्चालन गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुलाई आलोपालो गर्दै हप्तामा तीन दिन विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न र यसको व्यवस्थापनका लागि बैंकर्स एसोसिएशनलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै बैंक तथा वित्तिय संस्थाहरुले सञ्चालनमा ल्याएका एटिएम सेवाहरु चोविसै घण्टा खुल्ला राख्नपर्ने भएको छ ।
जिल्लामा रहेका सहकारी संस्थाहरुले सेवाग्रहीहरुको घर तथा पसलबाट नगद संकलन गर्ने कार्यलाई तत्कालका लागि बन्द गर्ने र आलोपालो गरी हप्तामा तीन दिन मात्र खोल्न प्रशासनले भनेको छ ।

जिल्लाका रहेका सम्पूर्ण सैलुन,ब्यटिपार्लर र मदिरा व्यवसाय आज बैशाख १५ गतेबाट अर्को सूचना नआएसम्मको लागि बन्द गरिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*