हेटौंडामा कोरोनाको जोखिम उस्तै, एकै दिन थप दुई जनाको मृत्यु

दैनिक उपभोग्य खाद्यान्नका पसल अब विहान ८ बजेसम्ममात्रै खुल्ने
लोकखबर
२२ बैशाख २०७८, बुधबार ०८:४२

मकवानपुर । कोरोना माहामारीको दोस्रो लहरमा मकवानपुरमा थप जोखिम बढेको छ । संक्रमणमा परी अस्पतालमा उपचाररत थप दुई जनाको हिजो मंगलबार मृत्यु भएपछि थप चिन्ता बढेको छ ।

मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचाररत दुई जनाको मृत्यु भएको हो । अस्पतालमा उपचारत हेटौंडाका एक महिला र बाराका एक पुरुषको मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, का ४१ वर्षिया एक महिलाको कोरोना संक्रमणबाट मंगलबार हिजो विहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अस्पतालमै उपचाररत बारा अमलेखगन्ज २१ का ५९ बर्षिय पुरुषको पनि मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।
यसैबिच, मकवानपुरमा पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । सोमबार दिउसो २ बजेको विवरण अनुसार ९३ जनाको पिसिआर परिक्षण गर्दा ५७ जना र ४२ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा १९ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका मात्रै ५९ जना छन् ।

यस्तै, थाहा नगरपालिकामा एक जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा एक जना र मकवानपुरगढी गाउँपालिकामा ११ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएको पनि स्वास्थ्य कार्यालको भनार्य छ । डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट ८ जना र संस्थागत आइसोलेसनबाट १ जना रहेका छन् ।

पछिल्लो विवरण अनुसार मकवानपुर जिल्लामा संक्रमितको संख्या ४ हजार ७ सय २२ पुगेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित ८ सय ५१ जना रहेको जनाइएको छ ।

यसैबिच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले दैनिक उपभोग्य सामाग्रीका पसल खुलाउने विषयमा नयाँ निर्णय गरेको छ । यसअघि विहान ९ बजेसम्म अत्यावश्यक उपभोग्य खाद्यान्नका पसल विहान ५ बजेदेखि विहान ८ बजेसम्म खुलाउने गरिएकोमा अब भने विहान ८ बजेसम्ममात्र खुला हुनेछन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरि अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्रि वितरण गर्ने पसल विहान ५ बजेदेखि विहान ८ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरिएको जनाएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेद्घारा जारी सूचनामा औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका बर्कसप नियमित सञ्चालन गर्नुपर्ने र अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने उल्लेख गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*