मकवानपुरमा संक्रमण बढ्दै, उपमहानगरद्वारा एम्बुलेन्स व्यवस्था
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमित बढ्दो क्रममा रहेको पाइएको छ । विहीबार साँझ हेटौंडामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सन्चालित हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेको एक पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
साँझ करिब साँढे ६ बजे मृत्यु हुनेमा रौतहट चपुर बस्ने ३८ बर्षिय पुरुष रहेको डा. काफ्लेले जानकारी दिए ।
हेटौंडामा विहीबार मात्रै थप ९७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर ८८ जनामा गरिएको परीक्षणमा ६३ जना र एन्टिजन विधीबाट ५० जनामा गरिएको परिक्षणमा ३४ जना गरी ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनसार कोरोना संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६० जना,थाहा नगरपालिकाका १२ जना,मनहरी गाउँपालिकाका २१ जना,मकवानपुरगढी र बागमती गाउँपालिकाका २/२ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार मकवानपुरमा हालसम्म ४ हजार ९ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । मकवानपुरमा अहिले सक्रिय संक्रमितको संख्या ९ सय ८८ जना रहेका छन् । उनीहरुमध्ये ९ सय ३९ जना घरमा र ४९ जना आइसोलेसनमा उपचार गरिरहेका छन् ।
यसैबिच,कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल लैजानका लागि हेटौंडा उपमहानगरपालिकाले एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
एम्बुलेन्स सेवा निशुल्क रुपमा चौबीसै घन्टा सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए ।