मकवानपुरमा जेठ १ गतेबाट जिल्लाभर निषेधाज्ञा

हेटौंडाको वडा–वडामा अटो एम्बुलेन्स, जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुग्यो
लोकखबर
३० बैशाख २०७८, बिहीबार १७:२०

मकवानपुर । मकवानपुरमा आगामी जेठ १ गतेबाट जिल्लाभर निषेधाज्ञा लागू गरिने भएको छ । यसअघि जिल्लामा कोरोनाको बढी प्रभावित चार स्थानीय तहमा लगाइएको निषेधाज्ञा भोलि शुक्रबार ३१ गते सकिने भएकाले अब जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा लगाइने भएको हो ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकको निर्णय अनुसार निषेधाज्ञालाई थप कडाई गर्दै लम्बाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

अबदेखि मर्निङ तथा इभिनिङ वाक गर्न नपाइने, अत्यावश्यक उपभोग्य वस्तुका पसल विहान ८ बजसम्म सम्ममात्र खुलाउन, नगरभित्रका बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबारमात्रै खोल्ने, सहकारी लगायत वित्तिय संस्था पूर्णरुपमा बन्द गरिने लगायत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

कोरोनाबाट मृत्य हुनेको संख्या ५१ पुग्यो
मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण आज (शुक्रबार) पनि थप २ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद चौलागाईका अनुसार आज मृत्यु हुने दुवै जना वृद्द पुरुष हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षिय पुरुष र वडा नम्बर ७ का ८७ वर्षीय पुरुषको आज मृत्यु भएको हो । कोरोना संक्रमित भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सन्चालित हेटौंडा अस्पताल, कोभिड कक्षमा उनीहरुको मृत्यु भएको निरिक्षक चौलागाईंले जानकारी दिए ।
आज दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

आज थप १ सय ५९ जनालाई कोरोना
मकवानपुरमा आज (विहीबार) थप १ सय ५९ जनालाई कोरोना संक्रमण भएको छ । संक्रमित हुनेमा १४ जना बालबालिका समेत रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।

निरिक्षक चौलागाईंका अनुसार २ सय ८३ जनाको स्वाब परीक्षण गर्दा १ सय ५९ जनामा कोरोना पुष्टि भएकोे हो । २ सय ७५ जनाको पीसीआरबाट परिक्षण गर्दा १ सय ५४ जना र ८ जनाको एन्टिजेनबाट परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो । हेटौंडा उपमहानगरका वडा नम्वर ४ मा सबैभन्दा बढी ३२ जनालाई कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमित भएका मध्ये बकैया गाउँपालिकाका १ जना, मकवानपुरगढीका ८ जना, मनहरी गाउँपालिकाका पाँच जना र जिल्ला बाहिरको ६ जना रहेका छन् ।

वडा-वडामा अटो एम्बुलेन्स सन्चालन
कोरोना संक्रमित र मृत्युको संख्या दिनहुँ थपिइ रहेपछि हेटौंडा उपमहानगरपालिकाको सबै वडामा अटो एम्बुलेन्स सन्चालनमा ल्याइएको छ ।
कोभिड संक्रमित बिरामीलाई ओसारपसार गर्नका लागि हेटौंडाका १९ वटै वडामा अटोलाई एम्बुलेन्सको रुपमा सन्चालनमा ल्याईएको हो । आज (विहीबार) हेटौंडा उपमहानगरकाका सबै वडामा दुई-दुई वटा गरी ३८ वटा अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याइएको हो ।
अटोलाई केही स्वरुप परिवर्तन गरी अटो चालकलाई पीपीई सेट प्रयोग गराई अटो एम्बुलेन्स सञ्चालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाभित्र संक्रमण बढ्दो पाइएकाले बिरामीलाई आवत जावतमा समस्या नहोस् भनेर अटो एम्बुलेन्स सन्चालन गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।
जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को पदाधिकारीहरुको उपस्थितीमा चालकलाई पिपिई सेट प्रदान गर्दै अटो एम्बुलेन्स सुरुवात गरिएको थियो । हेटौंडा उपमहानगरको व्यवस्थापन र अटो व्यवसायीहरुको सहकार्यमा यो सेवा सुरुवात गरिएको जनाइएको छ ।

सुरक्षित भई काम गर्न पत्रकार महासंघको आग्रह
पत्रकार महासंघ मकवानपुरले जिल्लाका सन्चारकर्मीलाई कोरोनाबाट सुरक्षित भएर काम गर्न आग्रह गरेको छ । महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै कोभिडको समयमा संचारकर्मीहरूले जोखिमका बीच सूचना सम्प्रेषणको काम गर्नु परेकाले आवश्क सुरक्षा अपनाउन आग्रह गरेका हुन् ।

मकवानपुरमा अहिले ११ पत्रकार कोरोना संक्रमित भइ होम आइसोलेसनमा रहेको पनि अध्यक्ष गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
महासंघले संक्रमित पत्रकारहरूका लागि हेटौंडाको गौरीटारमा रहेको आइसोलेशनमा छुट्टै व्यवस्थाका लागि समन्वय गरेकाले होम आइसोलेसनमा बस्न समस्या भएको अवस्थामा महासंघमा सम्पर्क गर्न भनेको छ ।

यस्तै,सदस्यहरुलाई सकभर फोन र सामाजिक सञ्जालको प्रयोग गरि दैनिक समाचार संकलनको काम गर्न, स्थलगत रूपमा समाचार संकलनमा जानु परेमा सरकारद्वारा जारी स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र स्थलगत रूपमा समाचार संकलनमा जानु परेमा आफ्नो मिडिया, पेशागत संगठन वा महासंघले उपलब्ध गराएको प्रेस ज्याकेट लगाउनका साथै मिडिया हाउसले उपलब्ध गराएको परिचय खुल्ने फोटोसहितको प्रेस कार्ड अनिवार्य देखिने गरी लगाउन भनेको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*