हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापनाको तयारी, उपमहानगरपालिकाले एक करोड २८ लाख दिने

हेटौंडामा नीजि क्षेत्रबाट पनि अक्सिजन उद्योग खोल्न गृहकार्य
लोकखबर
२ जेष्ठ २०७८, आईतवार ११:१३

मकवानपुर । कोरोना भाइरस (कोभिड -१९) को माहामारीमा अक्सिजन अभावले नागरिकले ज्यान गइरहेको बेलामा मकवानपुरको हेटौंडा अस्पतालका बिरामीका लागि आवश्यक पर्ने अक्सिजन प्रबन्ध गर्न अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने तयारी भएको छ ।

प्लान्ट व्यवस्थापनका लागि लाग्ने करिब १ करोड २८ लाख रुपियासम्म हेटौंडा उपमहानगरपालिकाले लगानी गर्ने भएको छ ।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अस्पतालको अस्पतालका बिरामीलाई अक्सिजन अभाव नहोस् भन्नका लागि आफूले अरु योजना कटौती गरेर भएपनि एक करोड २८ लाख रुपियासम्म खर्च गर्ने निर्णय गरेको जानकारी दिए । तर सरकारी कार्य भएकाले टेन्डर प्रकृया झन्झटिलो र समय लाग्दा तत्कालै प्लान्ट स्थापना गर्न भने अन्यौलता भएको बताए । ‘नेपालको कानून दैवले जानुन् भनेजस्तो अवस्था छ । ’ मेयर महत भन्छन्, ‘ फास्ट ट्रयाकबाट जान सकिने उपायबारे पनि सरोकारवालासंग छलफल गर्दैछौं । यो बेलामा अरु योजना भन्दा पनि जनताको जीवन बचाउँनुपर्ने भएकाले हामी अक्सिजन प्लान स्थापनाका लागि लगानी गर्न तयार भएका छौं । मेयर महतले अक्सिजन अभावका कारण कसैको ज्यान नजाओस् भन्ने सोचले आफूले सरोकारवालासंग छलफल समेत गरिसकेको बताए ।

खरिद प्रकृयाबाट काम अघि बढाउँदा तीन–चार महिनासम्म लाग्ने तर प्रत्यक्ष रुपमा लगानी गर्न सक्ने अवस्था भएमा मेसिन ल्याइएको पाँच–सात दिनमा अस्पतालमा अक्सिजन उत्पादन हुन थाल्ने आफूले बुझेको महतको भनाई छ ।

अस्पताल संचालक मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइ पनि दैनिक सय बेडका बिरामीका लागि आवश्यक पर्ने अक्सिजन उत्पादन गरी बिरामीको बेडसम्म पाइपलाइनबाट पुर्याउनका लागि अस्पताल हातमामा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गरी संचालनमा ल्याउने बारे अध्ययन भइरहेको बताउँछन् । यसका लागि आवश्यक पर्ने आर्थिक स्थानीय सरकारले व्यवस्था गरिदिने भनेपनि खरिद प्रकृयाका कारण ढिला हुने देखिएको राजिष्टार प्रसाईको भनाई छ । ‘बिरामीलाई तत्कालै अक्सिजन चाहिएको छ । सरकारी प्रकयाबाट जाँदा तीन देखि चार महिनासम्म लाग्ने देखिन्छ । ’ प्रसाइ भन्छन्,‘ कानूनी प्रकृया पूरा गरी कसरी चाँडै अक्सिजन जेनेरेटर प्लान्ट स्थापना कसरी गर्न सकिन्छ भन्नेबारेमा सरोकारवालाबीच छलफल भइरहेको छ ।’

अस्पतालमा राखिने तयारी गरिएको भनिएको अक्सिजन जेनेरेटर प्लान्ट मार्फत अस्पतालमा भर्ना भएका बिरामीको बेडसम्म अक्सिजन पुर्‍याउन सकिने जनाइएको छ । अक्सिजन उत्पादन तथा विक्री वितरणका लागि नभई अस्पतालमा भर्ना भएका अक्सिजन चाहिने बिरामीका लागि आवश्यक अक्सिजन उपलब्ध गराउँनका लागि जेनेरेटर प्लान्टको बारेमा तयारी गरिएको प्रसाई बताउँछन् ।

अस्पताल हातामा राखिने पीएसए जेनेरेटर सिस्टममार्फत दैनिक ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन हुन हुने जनाइएको छ । यसबाट दैनिक १२५–१३५ वटासम्म सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुनेछ । प्लान्ट स्थापना तथा संचालनका लागि विज्ञको टोली आई आवश्यक अध्ययन गर्ने तयारी पनि भइरहेको रजिस्टार प्रसाईले बताए ।

यस्तै, नीजि क्षेत्रको पहलमा पनि हेटौंडामा अक्सिजन उद्योग नै स्थापना गर्ने बारे आवश्यक तयारी थालिएको पाइएको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलका अनुसार उद्योग खोल्नका लागि आवश्यक छलफल, अध्ययनको कार्य अगाडी बढाइएको छ । तर उद्योग स्थापना तथा संचालनका लागि ठूलो रकम लाग्ने भएकाले के कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा नीति क्षेत्रका लगानी गर्न इच्छुक व्यक्ति छलफल तथा अध्ययनमै रहेको अध्यक्ष पोखरेलको भनाई छ । ‘अहिले कोरोनाका बेलामा जतिसक्दो चाँडो अक्सिजन चाहिएको छ ।’ पोखरेल भन्छन्,‘अक्सिजन उद्योग स्थापना गरी संचालनमा ल्याउन सकियो भने पछि आवश्यक अक्सिजन पूर्ति गर्न सकिन्छ । ’

सरकारी क्षेत्रबाट खरिद प्रकृया झन्झटिलो हुने भएकाले नीजि क्षेत्रबाट चाँडो काम अघि बढाउन सकिने भएपनि उद्योग कहाँ स्थापना गर्ने,कसरी गर्ने भन्नेजस्ता कुरामा छलफलमै रहेको बताइएको छ ।

नीजि क्षेत्रबाट उद्योग खोल्नका लागि उत्पादन, क्षमता अनुसार तीन करोड देखि पाँच करोडसम्म लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*