हेटौंडा उपमहानगरपालिका दैनिक सय अक्सिजन सिलिन्डर व्यवस्थापन गर्दै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका अक्सिजन व्यवस्थापनमा जुटेको छ । उपमहानगरपालिकाका सूचना अधिकारी भानु थपलियाका अनुसार दैनिक रुपमा सय वटा अक्सिजन सिलिन्डरसम्म व्यवस्थापर्ने गर्ने कार्यमा उपमहानगरपालिका लागिपरेको हो ।
आज (आइतबार) मात्रै सय वटा लिलिन्डर व्यवस्थापन गर्नका लागि हेटौंडाबाट दुई वटा टिप्पर नुवाकोट र इटहरी गएको छ । दुवै ट्रिपर आज बेलुकासम्म आइपुग्ने जनाइएको छ ।
दुवै ठाउँबाट पचास-पचास थान सिलिन्डर अक्सिजन ल्याउनका लागि उपमहानगरपालिकाले आफूसंग भएको ट्रिपरमार्फत ढुवानीको व्यवस्था मिलाएको छ । ‘हामीसंग तीन वटा ट्रिपर रहेका छन् । कतै अक्सिजन पाइयो भने दैनिक रुपमा यी ट्रिपर हामी दौडाइहाल्छौं ।’ सूचना अधिकारी थपलियाले भने,‘खाली सिलिन्डर लिएर भर्ने अथवा किन्नै परेमा पनि उपमहानगरपालिका तयार छ ।’
कोरोना भाइरस (कोभिड १९) को माहामारीबाट नागरिकको जीवन बचाउन आवश्यक अक्सिजन जोहो गर्ने काममा उपमहानगरपालिका सक्रिय बनेको हो ।
पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाका कोरोनाका संक्रमित बढ्ने तथा मृत्यु हुने संख्या बढिरहेकाले उपमहानगरपालिका अक्सिजन व्यवस्थापनमा जुटेको मेयर हरिबहादुर महतले बताए । मेयर महतका अनुसार कहीँ कतै अक्सिजन भएको सूचना पाएमा ढुवानी व्यवस्था मिलाई अक्सिजन हेटौंडासम्म ल्याउने कार्य उपमहानगरपालिकाले मिलाएको हो । मेयर महतले अक्सिजन अभावमा नागरिकको बाँच्न पाउँन नगुमोस् भन्नका लागि सरोकारवाला सबैलाई साथ दिन पनि आग्रह गरे । ‘तपाई सबै सरोकारवालाले यदि कहीँ कतै अक्सिजन व्यवस्था गर्नुभयो वा सूचना पाउँनु भयो भने उपमहानगरपालिकालाई खबर गर्नुहोला । हामी हेटौंडासम्म ल्याउने व्यवस्था मिलाउँछौं ।’
हेटौंडा अस्पतालमा उपचाररत कोभिडका बिरामी अक्सिजन अभावमा छटपटाएर मृत्युको मुखमा पुग्न थालेको खबर स्थानीय तथा राष्ट्रिय स्तरका सन्चारमाध्यममा आएपछि उपमहानगरपालिका दैनिक सय सिलिन्डर अक्सिजन व्यवस्थापनमा लागेको हो ।
कोरोनाका बिरामी अक्सिजनको अभावमा छट्पटाउँदा पनि बागमती प्रदेश सरकार, स्थानीय सरकारको ध्यान नगएको भन्दै सामाजिक संजालमा आलोचना गरिएका थिए ।