मकवानपुरमा कोरोनाको संक्रमण र मृत्यु दर बढ्दो : पहिलो लहरको वर्षभरमा ३२ जनाको मृत्यु भएकोमा दोस्रो लहरमा महिनामै २९ जनाको ज्यान गयो

लोकखबर
२ जेष्ठ २०७८, आईतवार १५:४५

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो लहरमा एक वर्षका बीचमा ३२ जनाको मृत्यु भएकोमा दोस्रो लहरको एक महिनाका बीचमै २९ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकजानपुरका अनुसार गएको साल वैशाख देखि चैतसम्म एक वर्षमा ३२ जनाको मृत्यु भएको भएकोमा गत वैशाख महिनादेखि आज जेठ २ गते आइतबारसम्ममा नै २९ जनाको मृत्यु भएको हो ।

‘गत एक वर्षमा कोरोनाबाट मृत्यु भएका मानिस बराबर अहिले एक महिनामै मरेका छन् । ’स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्याय भन्छन्, ‘दोस्रो लहरको संक्रमणको गति तीब्र भएकाले मकवानपुरमा यतिका मान्छेको मृत्यु भएको हो ।’

स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म मकवानपुरका ६१ जनाको मृत्यु भएको छ । ‘हिजोसम्म ५८ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घन्टामा मकवानपुरका थप ३ जना संक्रमितको मृत्यु भई मृतकको संख्या ६१ पुगेको छ ।’ प्रमुख उपाध्यायले भने ।
मकवानपुरमा अहिले सक्रिय संक्रमितको संख्या २११७ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

यी संक्रमित मध्ये पनि हेटौंडा उपमहानगरपालिकाका मात्रै १६०३ जना रहेको छन् । यी मध्ये होम आइसोलेसनमा १५०७ र संस्थागत आइसोलेसनमा ८६ जना छन् । संस्थागत आइसोलेसनमा पनि हेटौंडा अस्पतालमा ४५, गौरीटार आइसोलेसनमा ३२, मकवानपुर सहकारी अस्पतालमा ५ र चुरेहिल अस्पतालमा ४ जना संक्रमित उपचाररत रहेका छन् ।

मकवानपुर जिल्लाभर २०१२ जना संक्रमित होम आइसोलेसन र १०५ जनामात्रै संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
थाहा नगरपालिकामा संक्रति सबै १८५ होम आइसोलेसनमा उपचारत छन् ।

यस्तै, मकवानपुरगढी गाउँपालिकाका संक्रमित सबै ६९ जना पनि होेम आइसोलेसनमा छन् ।

बागमती गाउँपालिकामा संक्रमित २१ जनामा संस्थागत आइसोलेसनमा ८, होम आइसोलेसनमा १३ जना उपचाररत रहेका छन् ।
कैलाश गाउँपालिकामा संक्रमित सबै ७६ जना होम आइसोलेसनमा छन् ।

मनहरी गाउँपालिकामा संक्रमित १०६ जनामा संस्थागत आइसोलेसनमा ५ जना मात्रै छन् भने बाँकी १०६ जना होम आइसोलेसनमा छन् ।
इन्द्रसरोबर गाउँपालिकामा सबै १६ जना संक्रमित होम आइसोलेसनमा छन् ।

भीमफेदी गाउँपालिकामा १९ जना संक्रमित रहेकोमा संस्थागत आइसोलेसनमा ५, होम आइसोलेसनमा १४ जना छन् ।

राक्सिराङ गाउँपालिकामा संक्रमित ५ जना रहेकोमा संस्थागत आइसोलेसनमा १, होम आइसोलेसनमा ४ जना छन् ।

मकवानपुरका सबै स्थानीय तहले कोरोना संक्रमितको उपचारका लागि डाक्टर तथा नर्सको व्यवस्था सहित कोभिड अस्पताल संचालन गरेका छन् ।
यसैबिच, मकवानपुरमा आइतबार (आज) थप १२७ जनालाई कोरोना संक्रमण भएको छ । वैशाख ३०, ३१ र जेठ १ गते संकलन गरिएको १८६ जनाको स्वाब परीक्षणको रिर्पोट आज सार्वजनिक गरिएको हो ।

संक्रमित मध्ये आज पनि हेटौंडा उपमहानगरपालिकाका धेरै ११२ जना रहेका छन् ।

हेटौंडा –१ का ७ जना, हेटौंडा – २ का १२ जना, हेटौंडा– ४ का १४ जना, हेटौंडा– ५ का २३ जना, हेटौंडा–६ का २ जना, हेटौंडा – ७ का ५ जना, हेटौंडा–८ का १२ जना, हेटौंडा ९ का ११ जना, हेटौंडा–१० का ४ जना, हेटौंडा–११ का १० जना, हेटौंडा १२ का २ जना, हेटौंडा १४ का २ जना, हेटौंडा १६ का ३ जना, हेटौंडा–१८ का २ जना, हेटौंडा–१९ का ३ जना, हेटौंडा उपमहानगरपालिका भित्रका अर्का १ जना संक्रमित भएका हुन् ।

मकवानपुरगढी गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका १ जना, भीमफेदी गाउँपालिकाका ३ जनालाई कोरोना पुष्टि भएको छ ।
आज कोरोना पुष्टि हुनेमा बारा जिल्लाका ६ जना, जिल्ला बाहिरका अरु २ जना पनि रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

कोरोना पुष्टि हुनेमा ७ जना बालबालिकामध्ये १ जना एक वर्षका छन् भने ७५ वर्ष माथिका ४ जनालाई कोरोना पुष्टि भएको छ ।
निरिक्षक चौलागाईंका अनुसार आइतबार (आज) संक्रमण दर ६६ प्रतिशत रहेको छ ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*