‘सातामा दुई दिन बजार खुलाउँदा मेला लागेजस्तो !’

लोकखबर
४ जेष्ठ २०७८, मंगलवार ११:५१

मकवानपुर । मकवानपुरको हेटौंडामा सातामा दुई दिन मंगलबार र शुक्रबार विहानका समयमा अत्यावश्यक खाद्यान्न बजार खुलाउने कार्यले कारोना संक्रमणको जोखिम थप बढ्ने देखिएको छ ।

विगतमा कोरोना भाइरस संक्रमणको बढी जोखिम क्षेत्र मानिएको मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा निषेधाज्ञा लगाइएकोमा पछिल्लो समय थप कडाईका साथ मकवानपुर जिल्लाभर निषेधाज्ञा जारी गरिएपछि आज (मंगलबार) हेटौंडा बजारमा खुलेको खाद्यान्न,दूध,फलफूल पसलमा उपभोक्ताकाको भीड लागेको थियो लाग्यो । मकवानपुर प्रशासनले सातामा दुई दिन विहान ५ बजेदेखि ८ बजेसम्म दैनिक उपभोग्य बस्तु खरिद गर्न दिएको छ । तर सातामा दुई दिनमात्र दैनिक उपभोग्य बस्तु पाइने भएपछि उपभोक्ताको भीड बजारमा देखिँदा संक्रमणको जोखिम अझ बढ्ने भन्दै प्रशासनको निर्णयको आलोचना भएको छ ।

संचारकर्मी सम्झना कार्कीले हप्तामा दुई दिन बजार खुलाउँदा थप भीडभाड हुने भन्दै सामाजिक संजाल फेशबुकमा हप्तामा दुई दिन मात्र पसल खुल्दा बजारमा मेला लागेको भन्दा बढी भिडभाड भएको प्रतिकृया दिएकी छिन् ।

यस्तै, पत्रकार रामकुमार एलनले सामाजिक संजाल फेशबुकमार्फत यस्तो टिप्पणी गरेका छन्, ‘आज हेटौंडामा देखिएको भिडको दृश्य र सनमाजिक सञ्जालको खबरले भैरवरोड पनि जाने आँट आएन । प्रशासनमा भएको बैठकमा ख्वप गल्ली र तरकारी बजार बन्द भनिएको थियो । राजनीतिक दल, व्यापारी मिले भने प्रहरी प्रशासन यसरी नै पंगु बनाइन्छ उपभोक्ता, जनता देखाएर, कोरोना ठूलो कि दादागिरी ? रिपोर्टहरुले देखाउला ।’

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले प्रशासनले गरेको निर्णयमा पुन :  विचार गर्नुपर्ने आवश्यकता देखिएका बताएका छन् । फेशबुकमा उनले लेखेका छन्, ‘आज हेटौंडा बजारको भिडभाडले पसल खोल्ने समयमा पुन : विचार गर्नुपर्ने देखियो ।’
यस्तै, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले पनि हप्तामा दुई दिन हेटौंडा बजार खुलाउने निर्णय पुनर्विचार गर्नुपर्ने तर्क गरेकी छिन् । सामाजिक सन्जाल फेशबुकमा उनले लेखेकी छिन्,‘आज हेटौँडा बजारको भिडभाड देख्दा पसल खोल्ने समयमा पुनः विचार गर्नुपर्ने जस्तो देखियो । ’
मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले फेशबुकमा यस्तो लेखेका छन्,‘खाद्यान्न र तरकारी पसलहरु हरेक दिन खुल्ला गरौं यसो गर्दा चै बरु कम जोखिम हुनसक्छ । आज हेटौडा पुरै हाट बजार जस्तै देखिएको छ । यसले त झनै बढी कोरोना सर्ने डर भयो ।
मकवानपुरमा अहिले बैंक तथा वित्तिय संस्था पनि सातामा दुइ दिन मंगलबार र शुक्रबार बिहान १० बजेबाट १ बजेसम्म खुलाउन दिएको छ । मकवानपुर कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले भीड नियन्त्रण गर्नका लागि यस्तो निर्णय लिइएपनि संक्रमण नियन्त्रणका लागि प्रभावकारी भने हुन नसक्ने सरोकारवालाको चिन्ता छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*