प्रतिनिधीसभा विघठन, कात्तिक २६ र मंशिर ३ गते चुनाव
मकवानपुर । सरकारले प्रतिनिधीसभा विघठन गर्ने निर्णय गरेको छ । मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधीसभा विगठन गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनाव गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबीका लागि गर्नुभएको आव्हानमा एमालेका केपी शर्मा ओली र नेपाली कांग्रेसका शेरबहादुर देउवाको दाबी नपुगेको भन्दै दुवैको दाबी अस्वीकार गरेको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट जारी भएसंगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
राष्ट्रपति भण्डारीले २१ घण्टाको समय दिएर संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आव्हान गरेपछि शनिबार अपरान्ह प्रधानमन्त्री पदमा ओली र देउवाले दाबी पेश गरेका थिए ।
देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए भने ओलीले एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई समर्थन गर्ने दाबी गरेका थिए । तर राष्ट्रपति भण्डारीले दाबी गरिएका सांसदको हस्ताक्षर दुवै तर्फ भएकाले प्रधानमन्त्रीमा दाबी नपुग्ने विज्ञप्ति जारी गरेकी थिइन् ।