मकवानपुरमा कृषि बजार, शिक्षा, पूर्वाधारमा बजेट
मकवानपुर । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि घोषणा गरेको बजेटमा मकवानपुरमा कृषि बजार, शिक्षा,पूर्वाधार लगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुभएको बजेट भाषणमा पूर्वी मकवानपुरको छतिवनमा कृषि औद्योगिक बजार बनाउने उल्लेख छ ।
जीर्ण रहेको सरकारी उद्योगहरुलाई नीजि साझेदारी कार्यक्रम अन्र्तगत सञ्चालन गरिने भएको छ । सोही अनुसार मकवानपुरको हेटौंडामा रहेको हेटौंडा कपडा उद्योगलाई सञ्चालनको लागि नीजि क्षेत्रसँग सहकार्य आह्वान गरिने भएको छ ।
यस्तै, नयाँ सहर निर्माण तथा पुराना सहर पुन : जागृत कार्यक्रम अन्तर्गत मकवानपुरको चित्लाङ र भीमफेदीलाई सहरी पूर्वाधारको लागि बजेट छुट्याइएको छ ।
मकवानपुरगढी सहितका गढीहरुको संरक्षणको लागि पनि बजेट विनियोजन गरिएको छ ।
यस्तै, आगामी दुई वर्षभित्र मकवानपुरको मयुरधापमा निर्माणाधीन औद्यौगिक क्षेत्रलाई दुई वर्षभित्र पूरा गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले बताएका छन् । काठमाण्डौंको बालाजुमा रहेको उद्योगहरु स्तान्तरण गरी हेटौंडाको मयुरधापमा आए त्यस्ता उद्योगलाई १० वर्षसम्म जग्गा भाडा छुट दिने समेत सरकारले घोषणा गरेको छ ।
मदन भण्डारी विश्व विद्यालय अन्र्तगत चित्लाङमा निर्माणाधिन इन्जिनियरिङ कलेज आगामी वर्षभित्र निर्माण सम्पन्न गर्नका लागि पनि बजेट विनियोजन गरिएको जनाइएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत चतरा-हेटौँडा सडकखण्डको बाँकी रहेको काम आगामी वर्ष सम्पन्न हुने भएको छ ।
थाहानगरको चित्लाङलाई काठमाण्डौंसँग जोडने निकै महत्वपूर्ण मानिदै आएको चित्लाङ–काठमाण्डौं सुरुङमार्गको निर्माण सुरुवात आगामी आर्थिक वर्षबाट हुने भएको छ ।
यस्तै,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित हर्नामाडीमा निर्माणाधीन खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गराउने पनि सरकारको घोषणा छ ।