एमालेलाई अर्को झड्का,राष्ट्रियसभामा कांग्रेसका पाण्डे विजयी
मकवानपुर । राष्ट्रियसभामा लुम्बिनी प्रदेशका तर्फबाट रिक्त सदस्यका लागि सोमबार भएको उप निर्वाचनमा एमाले पराजित भएको छ ।
उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।
पाण्डेले खड्कालाई ५४६ मतभारले हराएका हुन् । पाण्डेले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाएका हुन् ।
पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए ।