मकवानपुरमा कोरोनाबाट मृत्यु हुने १०३ पुगे
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ जना पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्ला २४ घन्टामा जिल्लाका थप तीन जना संक्रमितको मृत्यु भएको छ ।
हेटौंडा अस्पतालमा उपचारको क्रममा मकवानपुरका तीन सहित थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–१ का ५५ वर्षीय पुरुष, हेटौंडा–४ का ५६ वर्षीय पुरुष, हेटौंडा ५ का ७२ वर्षीय पुरुष रहेका छन् ।
यस्तै, बाराका ४२ वर्षीय र सिन्धुलीका ६६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरको भनाई छ ।
मकवानपुरमा पछिल्लो २४ घण्टामा थप एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१० जना कोरोनामुक्त भएका छन ।












































