मकवानपुरमा ६२ देखि ६४ वर्ष उमेरकालाई कोरोनाको खोप लगाईंदै
मकवानपुर । मकवानपुरको दश वटै पालिकामा आजबाट ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोनाको खोप लगाईंदैछ ।
सरकारले मंगलबार आजबाट सुरु गरेको कोरोनाविरुद्द दुई दिने खोप अभियान अन्तर्गत मकवानपुरमा पनि खोप अभियान सुरु भएको हो ।
चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्षका नागरिकलाई लगाइदैछ भने उपत्यकाबाहिरका जिल्लाका हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो डोज लगाइनेछ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले मकवानपुरको सबै पालिकाको वडा वडामा रहेको स्वास्थ्य संस्थामा खोप लगाइने बताए ।
पछिल्लो सयम मकवानपुरमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । सोमबार २४ घण्टाभित्र जिल्लामा २ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट २ सय १६ जना र संस्थागत आइसोलेसनबाट १२ जनाले कोरोना जितेको कार्यायलय प्रमुख उपाध्यायले बताए ।
मकवानपुरमा हालसम्म ७ हजार ४ सय ९ जनाले कोरोना जितेका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरमा हालसम्म ९ हजार ४ सय २३ जनालाई कोरोना पुष्टि भएको हो । मकवानपुरमा हाल १ हजार ८ सय ९५ जना सक्रिय संक्रमितले उपचार गराइरहेका छन् ।











































