बागमती सरकारको नीति तथा कार्यक्रम : कोरोनामा केन्द्रित, पुरानै नारा र कार्यक्रम थपथाप

लोकखबर
२८ जेष्ठ २०७८, शुक्रबार १३:१२

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बिहीबार कोरोना नियन्त्रणका लागि विभिन्न योजना सहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् ।

सरकारले आगामी वर्ष कोरोना संक्रमणलाई ध्यान दिदै सुविधा सम्पन्न अस्पताल, यन्त्र, उपकरण र जनशक्तिको उचित व्यवस्थापन गर्ने योजना अघि सारेको छ । कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता, युवाहरुलाई उद्यमशीलतामा जोड्न स्वरोजगारमूलक उत्पादनमा आधारित अनुदानका कार्यक्रम तर्जुमा गर्ने योजना सरकारको छ ।

यस्तै, राष्ट्रिय गौरवका आयोजनाहरुको मूल्यांकन गरी आवश्यक बजेट विनियोजन गर्ने, बहुवर्षीय र क्रमागत योजनाहरुलाई प्राथमिकतामा राखेर पहिलो चरणमा बजेट विनियोजन गरिने र अन्य योजनालाई दोस्रो चरणमा बजेट प्रदान गरिने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

एक विद्यालय एक नर्स कार्यक्रमलाई प्रदेशका ३८३ विद्यालयमा विस्तार गरिने, एक स्थानीय तह एक नर्सरी कार्यक्रम सञ्चालन गरिने, दूध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने र सो बापतको रकम कृषकको खातामा जम्मा गरिदिने तथा बाँझो जग्गामा खेती कार्यक्रम सञ्चालन गरिने जस्ता योजना सरकारको नीति तथा कार्यक्रममा छ ।

नीति तथा कार्यक्रममा बागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना भइरहेको दुध पाउडर प्लान्टलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ ।

यस्तै,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थापन र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिने जनाइएको छ ।

प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शब्दै शब्दको जाल बाहेक केही नभएको प्रतिकृया दिएको छ ।

प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेल सरकारले कोरोनाको समयमा प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए । उनले नीति तथा कार्यक्रममा असाध्यै राम्रो शब्द समेटे पनि केबल शब्दहरुको जालैजालो भएको प्रतिकृया दिएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ खालका कार्यक्रम भन्दा पनि पूरानै खाले कार्यक्रमलाई जोड दिएको पाइएको छ ।
शिक्षा स्वास्थ्य, रोजगारी, उद्योग, पर्यटन, भौतिक विकास लगायतका क्षेत्रको नारामात्र परिवर्तन गरी पुरानै कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिन लागेको पाइएको छ ।

यस्तै, गत वर्षकै कार्यक्रमहरु एक विद्यालय एक नर्स, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम,युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम, एक घर एक धारा, मुख्यमन्त्री सडक कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि पनि नीति तथा कार्यक्रममा थपथाप गरी समेटिएको पाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*