साताभित्र एमाले एकता टुंग्याउने गरी गृहकार्य
मकवानपुर । विभाजनको डिलमा पुगेको एमाले अब सातादिनमा एकता टुंग्याउने गरी गृहकार्य अघि बढेको पाइएको छ ।
पार्टीभित्रको विवाद मिलाउने यतिबेला दोस्रो तहका नेता सक्रिय बनिरहेका हुन् । अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल–माधव नेपाल समूहका दोस्रो तहका नेताहरुबीच पार्टी एकता गर्नका लागि निरन्तर छलफलमा छन् ।
लगातार जसो पार्टी मिलाउन दोस्रो तहका नेताहरु छलफलमा जुटिरहँदा करिब करिब सहमती नजिक पुगेको प्रतिकृया दिइएको छ ।
पार्टी एकता कसरी टुंगो लगाउने भन्नेमा छलफल केन्द्रित भएको छ । अध्यक्ष ओली पक्षका नेताहरुले जेठ ३ अघिको अवस्थामा पर्काउन आफूहरु तयार रहेको तर माधव पक्षले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् । यस्तै, माधव–खनाल पक्षका नेताहरुले ओलीले प्रतिनिधि सभा विघटन गरेर आफूले गल्ती गरेकोमा माफी माग्नुपर्ने बताउँदै आएका छन् ।
दुवै पक्षबाट राखिएका यी अडानमा कसरी सहमतीको बिन्दु पहिचान गर्न सकिन्छ भन्नेमा नेताहरु रहेका छन् ।
नेताहरु परिणाम निकाल्ने गरी तीन–चार घन्टा छलफलमा जुटिरहे पनि के कुरामा कस्तो सहमती भइरहेको भन्नेमा नेताहरुले खुलाएका छैनन् ।