युट्युबमा भाइरल सन्तोषी सुब्बाको शव फेला
मकवानपुर । विभिन्न आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मंगलबार (हिजो) उनको हत्या गरेर शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।
कोइली, काग, कुखुरा, ढुकुरलगायतको आवाज निकाल्नसक्ने सन्तोषीको के कारण हत्या भएको हो भन्नेमा प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
सन्तोषीलाई कालोपुलमा बस्दै आएका धनबहादुर तामाङले धर्मछोरी बनाएर आफूसँगै राखेको प्रहरीको भनाई छ । आवश्यक अनुसन्धानका लागि प्रहरीले धनबहादुरलाई नियन्त्रणमा लिएको छ । घटनामा उनको संलग्नता भने नदेखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाई छ ।
धनबहादुरले सन्तोषीलाई विगत पन्ध्र वर्षदेखि आफ्नो संरक्षणमा राख्दै आएका थिए ।
उनी तीन दिनदेखि सम्पर्क नभएको र उनले धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएको पाइएको छ ।
मृतक सन्तोषीको घाँटीमा सलले कसिएको र अनुहार चिन्न नसक्ने गरी किचिएको अवस्थामा फेला पारिएको हो ।
प्रहरीका अनुसार घटनास्थलमा एउटा बट्टामा एउटा गंगटो पनि फेला परेको छ । प्रहरीले मास्क र चप्पल पनि प्रहरीले बरामद गरेको छ ।
हत्या भएकी सन्तोषीको पेट बढेको देखिएको प्रहरीले जनाएको छ । पेट बढेकाले उनी गर्भवती रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अवैध सम्बन्ध खुल्ने डरले पनि उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।