भीमफेदी गाउँपालिकामा ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ मा सुत्केरी महिला लक्षित ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम संचालन गर्ने भएको छ ।
पालिकामा यसअघि पनि गर्भवती तथा सुत्केरी महिला लक्षित कार्यक्रम संचालन गर्दै आएकोमा आगामी आर्थिक वर्षमा पालिकाका उपाध्यक्षसंग सुत्केरी महिलाको प्रत्यक्ष सम्पर्क गरी सहयोग गर्नका लागि थप ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम संचालनको तयारी गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाका अनुसार सुत्केरी भएकी महिलाको घरमा पुगेर खाद्यान्न, पौष्टिक आहारसहितको कोसेली लिएर सहयोग गर्न यो कार्यक्रम गर्ने तयारी गरिएको हो । यस कार्यक्रम गाउँपालिकाका ९ वटै वडाका सुत्केरी भएका महिलालाई भेट गर्ने अवसरका रुपमा मात्र नभई सुत्केरी महिलालाई पौष्टिक खानेकुरा खुवाउनुपर्ने, आवश्यक हेरचाह गरिनुपर्ने सन्देश समेतको कार्यक्रम भएको उपाध्यक्ष रानाको भनाई छ । ‘पालिकामा कम्पतिमा डेढ सय जना गर्भवती महिला हुनसक्छन् । उनीहरु सबैको घरमा पुग्दा हौसला त हुन्छ नै । ’ उपाध्यक्ष रानाले भनिन्, ‘घर परिवारमा उनीहरुलाई सुत्केरीका बेलामा थप हेरचाह, सहयोग हुनुपर्ने सन्देश पनि प्रवाह यस कार्यले गर्नेछ ।’
पालिकाले सुरुदेखि नै गर्भवती तथा सुत्केरी महिला लक्षित सहयोगात्मक कार्य गर्दै आइरहेको थियो । मातृशिशु स्याहार कार्यक्रम अन्तर्गत राज्यले दिदै आएको रकममा थप दुई हजार प्रोत्साहन स्वरुप प्रदान गर्दै आएको पालिकाले दोस्रो वर्षदेखि ‘घरघरमा झन्डा, सुत्केरीलाई अन्डा’ कार्यक्रम संचालन गर्दै आइरहेको छ । यो कार्यक्रम अन्तर्गत पालिकाका गर्भवती महिलाका घरमा झन्डा राखेर गर्भवती हो भन्ने प्रमाण दिइदै आइएको उपाध्यक्ष रानाले बताइन् । ‘घरमा झान्डा राखिदिएपछि गर्भवती महिलाको पहिचान हुन गई आवश्यक सहयोग गर्न सजिलो हुने गरेको छ ।’ उनले भनिन्, ‘स्वास्थ्य संस्थामा नियमित चेकजाँचका लागि आउँने गर्भवतीलाई अन्डा प्रदान गर्ने कार्य हुदै आएको छ ।’

पालिकाको उपाध्यक्षमा निर्वाचित भइसकेपछि आफूले महिला लक्षित विभिन्न कार्यक्रम सन्चालनका लागि ध्यान दिएको बताउँदै आगामी आर्थिक वर्षका लागि पालिकाको समग्र विकासका साथै महिलाको चौतर्फी विकासका लागि विभिन्न योजनाहरु बनाइएको रानाले बताइन् ।













































