चितवनस्थित माडीको सुकुम्बासी बस्ती डुबानमा, १८ घरधुरीलाई सुरक्षित स्थानमा सारियो
मकवानपुर । गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले चितवनको माडीस्थित सुकुम्बासी बस्ती डुवानमा परेको छ ।
स्थानीय छविलाल चेपाङका अनुसार माडी नगरपालिका( ७ परौवी खोला छेउमा रहेको सुकुम्बासी बस्तीमा बाढी पसेको छ । स्थानीय सरकारले खोलाको छेउमा आधा मात्र तटबन्ध गरेकाले बाढी बस्तीमा पसेको चेपाङले जानकारी दिए ।
बस्तीका आधाभन्दा बढी घरमा पानी पसिसक्यो । हामी सबै तटबन्धन लगाएकोतिर बाढी नपसेको घरमा जम्मा भएर बसेका छौँ,’ चेपाङले भने । यो बस्ती चितवन राष्ट्रिय निकुञ्जको कुसुम खोलाबाट २ वर्षपहिले यहाँ सारिएको हो ।
त्यस्तै माडीकै डांग्रेखोलामा आएको बाढीले माडी १ बरुवा बजारको सुकुमबासी बस्ती पनि डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार सो ठाउँका १८ घरधुरीका ५३ जनालाई नजिकै रहेको मध्यवर्ती क्षेत्र पाँच पाण्डवमा सारिएको छ ।
बाढीले माडीको रौतने खोला छेउको ड्याम कटान गरेपछि माडी( ३ मलाही टोल पनि डुबानमा पारेकोछ । यो बस्तीका ७ घरधुरीलाई सामुदायिक भवनमा सार्ने तयारी भइरहेको प्रहरीले जानकारी दियो ।
प्रहरीका अनुसार मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत् सेवा अबरुद्ध बनेको छ । माडीकै रिउ नदीमा पानीको सतह बढ्दै गएकाले गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेका छन् । बाढीका कारण सदरमुकामसँग ती गाउँको यातायात सम्पर्क विच्छेद भएको छ ।शिलापत्र डटकमबाट