हुलास वायरका ७ सय मजदुर तीन दिनदेखि आन्दोलनमा, कामकाज ठप्प

लोकखबर
२५ असार २०७८, शुक्रबार १२:१४

मकवानपुर । मोरङको बुढीगंगा( ३, स्थित हुलास वायर इन्डस्ट्रिजका श्रमिकहरू तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।
उद्योगमा कार्यरत ९३ जना श्रमिकलाई निष्कासन गरेपछि ७ सय श्रमिक आन्दोलित भएका हुन् । सरकारी मापदण्डअनुसारको सेवा सुविधा माग गर्दै श्रमिकहरूले श्रम कार्यालय मोरङमा उजुरी गरेका थिए । त्यसपछि उद्योगले ९३ जना कामदारलाई निष्कासन गरेको थियो ।
लामो समयदेखि उद्योगमा कार्यरत श्रमिकलाई सरकारी मापदण्डअनुसारको सेवा सुविधा दिनुपर्नेमा उल्टै निष्कासन गरेपछि मजदुरहरूले आन्दोदन गरिरहेका हुन् । उनीहरूले उद्योग ठप्प पारेका छन् ।
मजदुर संगठन र उद्योगबीच वार्ता भए पनि सहमति नभएपछि श्रमिकहरूले आन्दोलन थालेको उद्योगमा कार्यरत मजदुर सुर्य कुमार गिरीले बताए ।
६ महिना काम गरेपछि नियुक्ति पत्र र न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा पाउनुपर्ने सरकारी नियम भए पनि १० वर्षदेखि कार्यरत मजदुरलाई सरकारी मापदण्ड बमोजिमको सेवा सुविधा समेत नदिइएको उनले बताए । गिरीका अनुसार उद्योगमा ७ सय ५० भन्दा बढी कामदार कार्यरत छन् ।
बिहीबार उद्योग प्रशासन र श्रमिकहरुबीच वार्ता भएको थियो । तर, कुनै निष्कर्ष ननिस्किएको नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष शुसिलकोइरालाले बताए । ‘श्रमिकहरूलाई उद्योगले निकालेपछि बिनाशर्त पुनर्वहाली गर्नुपर्ने श्रमिकहरूको माग छ । हिजो एक चरण वार्ता पनि भयो तर निष्कर्षमा पुगेको छैन,’ उनले शिलापत्रसँग भने, ‘सम्भवत आज भोलि फेरि वार्ता हुन सक्ला । निष्कर्षमा नपुगुञ्जेल आन्दोलन जारी रहने छ ।’
यता उद्योगले भने श्रमिकहरूसँग वार्ता चलिरहेको जनाएको छ । ‘समस्या समाधानका लागि वार्ताहरू भइरहेका छन्,’ उद्योगका प्रशासन प्रमुख मुकेश कोठारीले भने, ‘प्रशासनले वर्ता गरिरहेको छ । म पनि बाहिर थिएँ भर्खर आइपुगेँ ।’
उद्योगले कयौँ पटक समय माग गर्दै श्रमिकहरूको माग सुनुवाइ नगरेका कारण आन्दोलनको विकल्प नभएको श्रमिकहरूले बताएका छन् ।
अर्का श्रमिक कुमार माझीले उद्योगले निष्कासन गरेर रोजगारविहीन बनाएका श्रमिकहरूको साथमा सबै श्रमिक रहेको बताए । उनले निष्कासन गरिएका श्रमिकलाई पुनः रोजगारी प्रदान नगरिएसम्म काम नगर्ने बताए । आन्दोलनरत श्रमिकहरूले तोकिएको मापदण्डअनुसारको सेवा सुविधा पाउनुपर्ने र रोजगारविहीन बनाइएका मजदुरहरुलाई पुनः रोजगारी प्रदान गर्नुपर्ने माग गरेका छन् ।शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*