‘मास्क लगाऔं अभियानमा’ दैनिक दुई सय जना बढी बालबालिकालाई मास्क वितरण
मकवानपुर । मकवानपुरका सामाजिक संघसंस्थाले थालेको मास्क वितरण अभियानमा बालबालिकालाई पनि विशेष प्राथमिकता दिँदै मास्क वितरण तथा सचेतनाको कार्य गरिएको छ ।
कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिममा बालबालिका बढी पर्ने भएकाले उनीहरुलाई समयमै संक्रमणबाट बचाउँन मास्क वितरण गरिएको हो । ‘मास्क लगाऔं अभियान मकवानपुर’ ले हेटौंडाका विभिन्न ठाउँमा सञ्चालन गरेको मास्क वितरण कार्यमा दैनिकजसो २ सय बढी बालबालिकालाई मास्क वितरण गरिने गरेको अभियानमा आबद्द बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले जानकारी दिए ।
उनका अनुसार बालबालिका तथा अभिभावकलाई कोरोना विरुद्घ सचेत बनाउँदै मास्क वितरण गर्ने कार्यलाई निरन्तरता दिइदै आइएको हो ।
अभियानले हेटौंडाका विभिन्न १२ ठाउँमा बसेर मास्क वितरण कार्य गर्दै आइरहेको छ । बसपार्क, सितलमहलक चोक, मानसचोक, उद्योग वाणीज्य संघ, राप्तीरोडस्थित ब्लडबैंक अगाडी, बुद्दचोक लगायत ठाउँमा अभियानले मास्क वितरण कार्य गरिरहेको हो । मास्क वितरण अभियानमा बालकल्याण समाज मकवानपुर, जीडब्लुपी, माइती नेपाल, ग्रामीण महिला सेवा केन्द्र, शान्ति फाउन्डेशन, नेपाल परिवार नियोजन संघ, अस्मिता नेपाल, साना हातहरु नेपाल, इस्थर बेन्जामिन, सेलर्ड, नारी सिप सृजना केन्द्र, नारी संरक्षण केन्द्र, मकवानपुर महिला समूह, सिविन नेपाल, डीएमसस, फेडो, युफिड र इटीएससी नेपाल रहेका छन् ।
ती संस्थाका अभियन्ता विहानैदेखि बेलुकासम्म मास्क वितरण कार्य तथा कोरोना विरुद्द सचेतना कार्यका लागि खटिने गरेका छन् ।
अभियन्ताहरु विहान सात बजेदेखि बेलुका ७ बजेसम्म हेटौंडाको बसपार्कमा तथा हेटौंडाका अन्य ठाउँमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मास्क अभियान सन्चालन गर्नमा खटिने गरेका छन् ।
अहिले मकवानपुरमा कोरोना संक्रमणको जोखिम थप बढेकाले संक्रमण अझ फैलनसक्ने भएकाले मास्क अभियानलाई थप प्रभावकारी बनाइनुपर्ने अभियानमा लागिपरेका अभियन्ताहरुको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले गरेको आव्हान बमोजिम मकवानपुरका संघसंस्थाले मास्क वितरण कार्य गरेका हुन् ।
सरकार र नागरिक समाजको संयुक्त प्रयासमा कोरोना विरुद्दको ‘मास्क लगाऔं अभियान’ गत सोमबारबाट मकवानपुरको हेटौंडामा जारी रहेको हो ।