नयाँ सरकारलाई ओली सरकारको जस्तो अपराध गर्ने छुट छैन : थापा
मकवानपुर । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले नयाँ सरकारलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको जस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा ओली नेतृत्वको तत्कालीन सरकारका बेथिति औंल्याउँदै त्यस्तो अपराध गर्ने छुट नयाँ सरकारलाई नभएको स्पस्ट पारेका हुन्।
संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको भन्दै थापाले यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु रहेको बताए।
थापाले भने,‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार।’
उनले नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए। ‘यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्छ,’ उनले भने, ‘न त यो संसदलाई बेवास्ता गर्न दिइने छ, न त कामविहीन बनाउन। न त मनोमानि ढङ्गले स्थगित गर्न दिइने छ न त छल्न। यो संसद सरकारसँग डराउने होइन। सरकार यो संसदसँग डराउनुपर्ने छ– सांसदको प्रश्नसँग, संसदको निगरानीसँग।’
प्रधानमन्त्रीको मात्र नभएर सभामुख र यो संसद जोगाउन लाग्ने प्रत्येक सांसदको परीक्षाको घडी आएको पनि उनले बताए।थाहाखबर डटकमबाट