पाल्पामा ९४ प्रतिशत रोपाइँ सम्पन्न

लोकखबर
२०७८ श्रावण १७, आईतवार १२:१८

मकवानपुर । पाल्पामा ९४ प्रतिशत रोपाइँ भएको छ। धान उत्पादन हुने क्षेत्रमा रोपाइँ सकिए पनि बाढी–पहिरोले क्षति पुगेका खेतमा रोपाइँ गर्न ढिलाई भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए।
स्थानीय तहबाट पछिल्ला समयमा तथ्यांक आउने क्रम जारी रहेको अर्यालले बताए। यो वर्ष ९६ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ हुने उनले बताए।
पाल्पामा ८ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको थियो। यस वर्ष ८ हजार ७०० पुगेको अर्यालले बताए। गत वर्ष ३३ हजार ८१६ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादनमा पनि वृद्धि हुने केन्द्रको अनुमान छ।
पाल्पामा साउन १० गतेभित्रमा धान रोप्ने समय उपयुक्त मानिन्छ। यद्यपि अहिले पनि किसानले धमाधम रोपाइँ गरिरहेका छन्। यो वर्ष मौसम अनुकूल छ। आकाशबाट पानी परिरहेको छ। मौसमविद्का अनुसार खडेरी कम हुने भएकाले धान उत्पादनमा वृद्धि हुने अर्यालले दाबी गरे।
यहाँको माडीफाँट, रामपुरफाँट, अर्गली, कचलफाँट, पूर्वखोलाको रिङ्नेरह, निस्दीको ढुंगानाबेशी, हुँगी, दर्पुक र दैलातुङफाँट धान खेतीका लागि मुख्य ठाउँको रुपमा चिनिन्छ। यहाँ वर्णशंकर, राधा, राधा–१४, सावा मन्सुली, साबित्री, रामधान नामक प्रजातिका धान खेति गरिन्छ।
पाल्पा धानका लागि आत्मनिर्भर छ। यहाँ खपत भएर बढी भएका धान बाहिर निर्यात हुँदै आएको प्रमुख अर्यालले बताए। मोटा धान बिक्री गर्ने र मसिना खरिद गर्ने चलन बढिरहेका उनले बताए।
रोपिसकेपछि हुर्किने समयमा धानलाई विभिन्न रोगले आक्रमण गर्न सक्छ। तर समयमै उपचार गरे निराकरण गर्न सकिन्छ। धानमा किरा वा कुनै प्रकारको रोग लागेको शंका भएमा तत्काल आफूहरूलाई खबर गर्न केन्द्रका प्रमुख अर्यालले बताए। सखाप पार्ने किरा लाग्ने हुँदा सचेत हुन किसानलाई अनुरोध गरे। जिल्लामा आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम संचालनमा रहेको उनले सुनाए। रोग वा किरा नियन्त्रणको लागि यहाँबाट सहयोग मिल्नेछ। विषादीसहित आवश्यक प्राविधिक सहयोग यहाँबाट उपलब्ध हुने उनले बताए।
धान खेतीमा प्रविधिको प्रयोग गर्न उनले सुझाए। मलखाददेखि धान खेतीको गोडमेल र सिंचाइको लागि समेत प्रविधिको प्रयोग गर्न अर्यालले सुझाएका छन्। प्रविधिको लागि कृषि ज्ञान केन्द्रले आवश्यक सहयोग गर्ने उनले बताए।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको