मेलम्ची बाढी : ६० घर टहरा बगे, बाहुनेपाटी पुल जोखिममा

लोकखबर
१८ श्रावण २०७८, सोमबार १२:२०

मकवानपुर । सिन्धुपाल्चोकको मेलम्ची खोलामा शनिबार रातिदेखि आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ। बाढीले हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ वटा र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। गएको असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर पनि शनिबार आएको बाढीले बगाएको छ। बगेकामध्ये ती घर खाली थिए।
बाढीको कारण चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा परेको छ। हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार उच्च जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिए। बाढीको जोखिम कायमै रहेकाले सजग रहन स्थानीय प्रशासनले नागरिकलाई आग्रह गरेको छ।
अहिले पनि बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको अवस्थामा फेरि बाढीले ठूलो क्षति गरेको हो।
बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ। यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा परेको स्थानीय प्रशासनले जनाएको छ।
हिजो आएको बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ।बाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरको अवस्था अज्ञात छ। हेलम्बु–२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुकै १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुल बाढीले पुरेको छ। नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*