भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

मकवानपुर । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार यही साउन २२ गते देखि सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो ।आफूलाई पायक पर्ने काठमाडौं जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौं महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइट मा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ ।
अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।कान्तिपुर डटकमबाट