विशेष महाधिवेशनको प्रस्तावमा पौडेल समूहमै असन्तुष्टि, साझा धारणा बनाउन चाक्सीबारीमा बैठक

लोकखबर
२१ श्रावण २०७८, बिहीबार १३:२१

मकवानपुर । नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेलले सहितका केही नेताले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पौडेल समूहमै असन्तुष्टि देखिएको छ । अहिले विशेष महाधिवेशनको परिस्थिति नै नरहेको भन्दै पौडेल समूहका नेताहरुमै असन्तुष्टि देखिएको हो ।
आगामी भदौमा महाधिवेशनको तयारी भएपनि क्रियाशील सदस्यता विवाद टुंगो नलागेकाले महाधिवेशन हुने नहुने अन्योलताका बीच पौडेलले सार्वजनिक रुपमै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । उनको प्रस्तावलाई अर्का नेता अर्जुन नरसिंह केसीले पनि साथ दिँदै यसबारे बहस छेडेका छन् ।
संस्थापन इतर समूहका महामन्त्री शशांक कोइरालालगायत भने विशेष महाधिवेशन गर्ने परिस्थिति नआइसकेको बताउँछन् । यही विषयमा एकता कायम गर्न तथा आन्तरिक विषयमा साझा धारणा तय गर्न पौडेल समूहको बैठक बिहीबार बसेको छ । काँग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको महामन्त्री कोइरालाले पुष्टि गरे ।
आजको बैठकमा विशेष महाधिवेशनको विषयलगायतका विषयमा छलफल हुने भन्दै उनले अहिले बाहिर चर्चामा आएजस्तो विशेष महाधिवेशन नै गर्नुपर्ने परिस्थिति बनिनसकेको उनको भनाइ छ । काँग्रेसका शीर्ष नेताहरुबीच बुधबार भएको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल भएको थियो ।
काँग्रेस नेता रमेश लेखकले महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै शीर्ष तहमा यसको टुंगो २ दिन भित्रलगाउने गरी छलफल भईरहेको बताए । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर, स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएका बेला विशेष महाधिवेशनको चर्चा बाहिर ल्याइएको हो ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*