कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज एस्ट्राजेनका लगाइने

लोकखबर
२२ श्रावण २०७८, शुक्रबार १६:३८

मकवानपुर । सरकारले साउन २५ गतेबाट यसअघि कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज स्वरुप एस्ट्राजेनका खोप लगाउने भएको छ।
गत फागुनको अन्तिमसाता कोभिसिल्ड खोप लगाएका १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने भएको हो। सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारा पोखरेलले बताए।
आज भुटानबाट खोप आएको छ अब भोलि सम्म जापानबाट पनि खोप आउने कुरा छ। त्यसैले २५ गतेबाट यसअघि कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज स्वरुप एस्ट्राजेनका खोप लगाउने तयारी गरेका हौँ।‘
उनले हाल भेरोसेलको दोस्रो डोज अभियान चलेको हुँदा २५ गतेबाट लगाउने तयारी गरिएको समेत बताए। खोप आएसँगै प्रदेशमा पनि सुरु गर्ने उनले बताए।
अक्सफोर्ड एस्ट्राजेनकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भए पनि भारतबाट खरिदको खोप उपलब्ध नभएपछि उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो।
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज एस्ट्राजेनका खोप उपलब्ध गराउँदै छ। भुटानले दिएको तीन लाख डोज एस्ट्राजेनका खोप आज नेपाल आइसकेको छ।
डा पोखरेलले आज आएको भुटानको खोप बाग्मती प्रदेश र गण्डकी प्रदेशमा वितरण गरिने र जापानबाट आएको खोप अन्य प्रदेशबाट लगाउन सुरु गरिने समेत बताए।
स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार नेपालमा ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार ९०० जनाले दोस्रो अर्थात पूर्णखोप पाइसकेका छन्।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *