मकवानपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज (सोमबार) कोरोना भाइरस (कोभिड १९) बाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार कोरोनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का ७७ वर्षिय वृद्द पुरुष रहेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
गत साउन २२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी भोलिपल्टदेखि अस्पतालमा उपचार गराइ रहेका थिए । पछिल्लो समय आज सोमबार एक जनाको मृत्यु भएसंगै कोरोनाबाट मकवानपुरमा ज्यान जानेको सङ्ख्या १ सय ४९ पुगेको छ ।
यसैबिच, मकवानपुरमा आज (सामेबार) थप ८५ जनालाई कोरोना भाइरस संक्रमण (कोभिड १९ ) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले दिएको जानकारी अनुसार २०५ जनाको एन्टीजेन र पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपाध्यायका अनुसार आज ४९ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा र १५६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो । मकवानपुरमा आज कोरोना संक्रमित दर ४१ प्रतिशत रहेको छ ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाभित्रका छन् । उपमहानगरपालिकाका ७१ जनामा कोरोना भएको हो ।
यस्तै,थाहानगरपालिकाका ८ जना, कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ३ जना र बकैया गाउँपालिकाका २ जनालाई आज कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आज सहित मकवानपुरमा कोरोना संक्रमित हुनेको सङ्ख्या १४ हजार २३ जना पुगेको छ ।
यसमध्ये हालसम्म १२ हजार ७ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा हेटौँडाका ५७ जना, थाहानगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना,कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका दुई जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।