अमरगढी र पाख्रीबास नगरपालिकासँग काठमाडौंले जोड्यो भगिनी सम्वन्ध
मकवानपुर । काठमाडौं महानगरपालिकाले थप दुई नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी(पत्रमा हस्ताक्षर गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर(१को पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको अमरगढी नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी(पत्रमा हस्ताक्षर गरेको हो ।
ती दुई नगरबिच गरेको समझदारी पत्रमा काठमाडौं महानगरपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरे । त्यसैगरी अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरे ।
सात प्रदेशका सात स्थानीय तहसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने योजनाअनुसार यसअघि नै काठमाडौं महानगरपालिकाले करलीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।
हितैषी तथा मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबीच भगिनी सम्वन्ध स्थापनाको अभियान अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
मुलुकभित्रकै स्थानीय तह, स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापनाले पर्या(पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुगोस् भन्ने हेतूले यस्ता सम्वन्ध स्थापना गरेका हौं,’ सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रमपछि सम्बोधन गर्दै प्रमुख शाक्यले भने,’आज हामीले पाख्रीवास र अमरगढी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेका छौँ । यी दुई नगर र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौं ।’
आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरको बीचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलीकरणका लागि थप प्रयास हुने अपेक्षा लिएको पनि उनले बताए ।
‘यस्ता सम्वन्धले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न, मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्न लगायतमा पनि सहयोग पुग्ने छ,’ उनले भने ।
एकैपटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भन्दै पहिलो चरणमा सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको र त्यहि अनुरुप थप दुई नगरसँग सम्बन्ध स्थापना गरेको जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट० को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले काठमाडौैं र पाख्रीबासको भूगोल एउटै भए पनि सपना अलग(अलग रहेको भन्दै दुई स्थानीय तहबिचको सम्वन्धले आफू उत्साहित भएको बताए ।
काठमाडौँ महानगरले मोनोरेल र मेट्रोरेलको सपना देखेको छ । यहाँको महानगरको सपना ठूलो छ,’ प्रमुख राईले भने, ‘हाम्रो सपना सबै वडामा सबै मौसममा यातातात आजत(जावत गर्न सक्ने सडक बनोस् भन्ने सपना छ ।’
कार्यक्रममा सम्वोधन गर्दै अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बडाकाजी अमरसिंह थापाले पश्चिमी क्षेत्रको एकीकरणका बेला निर्माण गरेको ऐतिहासिक अमरगढी किल्ला र त्यहि किल्लाको नामबाट स्थापित ननगरपालिका र साँस्कृतिक सहर काठमाडौँ महानगरबिच भगिनी सम्वन्ध स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उनले सहिद भिमदत्त पन्तको जन्मूभि, प्रसिद्ध धार्मिक स्थल उग्रतारा रहेको अमरगढी धार्मिक तथा पर्यटकीय स्थल पनि रहेको जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विकास निर्माणका काममा हातालेमालो गर्दै काठमाडौं महानगरपालिका अघि बढेको बताइन् ।
समझदारी पत्रमा हस्ताक्षसँगै काठमाडौं महानगरपालिकाले नगर(नगर साझेदारी कार्यक्रम अन्तरगत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ पार्क निर्माण गर्न १ करोड ५० लाख सहयोग सम्झौता गरेको छ ।
अमरगढी नगरपालिकाको वडा नम्बर(२ र ५ मा अवस्थित अमरगढी पार्क निर्माणका लागि पनि १ करोड ५० लाख सहयोग गरेको छ । ४ सय ५० रोपी क्षेत्रफल रहेको सो पार्क निर्माणका लागि सहयोग गरेको महानगरपालिकाले जानकारी दिएको छ ।अनलाइनखबर डटकमबाट











































