नयाँ सरकार आएपछिकाे सबै खोप अनुदान स्वरुप हो : राज्यमन्त्री श्रेष्ठ
मकवानपुर । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नयाँ सरकार बनेपछि आएको सबै खोप अनुदानको भएको बताएका छन्।आज संसदमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले अघिल्लो सरकारले ल्याएको सम्पूर्ण खोप खरिदको रहेको र नयाँ सरकार बनेपछि आएको सम्पूर्ण खोप अनुदान स्वरुप आएको बताएका हुन्।
यस्तै उनले हाल केन्द्रीय भण्डारणमा एक लाख ६१ हजार डोज एस्ट्राजेनेका खोप रहेको जानकारी दिए। काठमाडौंमा ५ लाख डोज भन्दा बढी खोप नराख्ने पनि उनले बताए। सीमानाकामा परीक्षण गर्ने र सीमामै खोप लगाइने व्यवस्थाको तयारी थालिएको समेत उनले जानकारी दिए।
अबको खोप कार्यक्रम हुँदा काठमाडौं र तराईका बढी जनघनत्व भएका सहर र विद्यार्थी तथा युवाहरुलाई प्राथमिकतामा राख्ने योजना छ’ उनले भने, ‘बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खोप लगाउने व्यवस्थाको तयारी कार्य भैरहेको छ।’
श्रेष्ठले असोज मसान्तसम्म एक करोड आठ लाख खोप प्राप्त हुने सुनिश्चित भएको बचाए। ३३ प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोप लगाउने कार्यक्रम प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
कोरोना महामारीसँग जुध्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने भन्दै श्रेष्ठले आगामी दिनमा सुलभ र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउन निजी स्वास्थ्य सस्थालाई नाफामूखी नभई सेवामुखी बनाइने बताए।
श्रेष्ठले वर्तमान सरकारले खोपलाई बढी प्राथमिकतामा राखेको भन्दै खोपको आयात र भण्डारणलाई वृद्धि गरिने बताए। ठूला अस्पतालको स्तर वृद्धि गर्दै गरिब जनतालाई स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य दरबन्दी थप गरिने पनि उनले जानकारी दिए। खोप व्यवस्थापनलाई उमेर समूह र ‘इकोनोमिक एक्टिभिटिज’ का आधारमा वितरण गरिने उनको भनाई थियो।
श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १७० खोप आइसकेको भन्दै ३ करोड ३६ लाख ७१ हजार ९५० आउने चरणमा रहेको बताए। असोजसम्म १ करोड २ लाख प्राप्त हुने भन्दै उनले माघसम्म ५ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए।
राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको पनि बताए।
उनले विद्यार्थीहरुको नियमित रुपमा पठन पाठन रोकिएकोले त्यसलाई अघि बढाउन विद्यार्थीलाई खोप लगाउने सरकारको कार्ययोजना रहेको बताए।
हालसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले पहिलो मात्राको खोप लगाएका छन भने २८ लाख ८८ हजार ३ सय ६९ जनाले पूर्ण मात्राको खोप लगाएका छन्। थाहाखबर डटकमबाट