बागमती प्रदेश : सांसदहरुलाई घर भाडाबापत वर्षमा झण्डै दुई करोड खर्च
मकवानपुर । बागमती प्रदेशसभा सदस्यहरुको आवास सुविधाबापत गत आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुका लागि गत आर्थिक वर्ष १ करोड ९० लाख ४ हजार ७४९ रुपैयाँ खर्च भएको छ ।
विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकहरु, प्रदेशसभा सदस्यहरुलाई घरभाडा बापत रकम भुक्तानी दिइएको हो ।
प्रदेशसभा सचिवालयबाट मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुखबाहेक सबैजसो सांसदले आवासबापतको रकम बुझ्दै आएका छन् । राजधानी हेटौंडामै घर भएका प्रदेशसभा सदस्यहरुले समेत आवास मर्मत शीर्षकमा प्रत्येक महिना ७ हजार ५०० रुपैयाँ बुझ्दै आएका छन् ।
राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिना १५ हजार रुपैयाँ घर भाडाबापत प्रदेशसभा सचिवालयले उपलब्ध गराउँदै आएको छ ।
प्रदेश १ राजधानीमै घर भएर पनि घरभाडा बापतको रकम बुझ्छन् यी सांसद
बागमती प्रदेशमा प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित सांसद् इन्द्रबहादुर बानियाँको हेटौंडामै घर छ । उनी गत २०७७ चैत १६ गतेसम्म प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलको नेता थिए । हेटौंडामै घर हुने सांसदका लागि घर भाडा रकमको पचास प्रतिशत मर्मत र सुविधामा पाउने व्यवस्था भए पनि बानियाँले चैत १६ गतेसम्म प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा थप सुविधासहित मासिक १२ हजार ५ सयका दरले रकम बुझ्दै आएका थिए ।तत्कालीन नेकपा खारेज भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएसँगै बागमती प्रदेशसभामा माओवादी केन्द्र प्रमुख प्रतिपक्ष दलको रुपमा कायम भयो । त्यसपछि भने बानियाँले प्रतिमहिना ७ हजार ५०० का दरले घर मर्मत सुविधाअन्तर्गत रकम प्राप्त गर्दै आएका छन् । उनले गत आर्थिक वर्ष २०७७र०७८ मा घरभाडा बापत १ लाख ३२ हजार ५८० रुपैयाँ बुझेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभामा विपक्षी दलका नेता शालिकराम जम्कट्टेलले घर भाडाबापत मासिक २५ हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् । गत पुसमा उनले १० हजार रुपैयाँ लिएका छन् भने माघ र फागुनमा १५÷१५ हजार रुपैयाँ लिएका छन् ।त्यसैगरी चैतमा १९ हजार ८३८ लिएका उनले वैशाखदेखि भने प्रमुख प्रतिपक्षी दलका नेताका रुपमा प्रतिमहिना २५ हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतकको जिम्मेवारीमा रहँदा प्रतिमहिना २५ हजार रुपैयाँ आवास सुविधा बापतको रकम प्राप्त गर्दै आएका केशवराज पाण्डेले गत वैशाख १५ पछि त्यस्तो सुविधा लिन छाडेका छन् । उनी प्रदेश सरकारमा सहभागी भएपछि प्रदेशसभा सचिवालयबाट आवास सुविधा लिन छाडेका हुन् । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेश सरकारबाटै आवास सुविधा पाउने भएकाले प्रदेशसभा सचिवालयबाट आवास बापतको रकम पाउँदैनन् ।एमालेका प्रमुख सचेतक दिपक निरौलाले जेठदेखि मासिक २५ हजार आवास खर्च बापत रकम पाउँदै आएका छन् । त्यसअघि उनले प्रदेशसभा सदस्यका रुपमा प्रतिमहिना १५ हजार रुपैयाँ प्राप्त गर्दै आएका थिए ।त्यस्तै नेपाली काँग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले पनि मासिक २५ हजार रुपैयाँका दरले घरभाडा पाउँछन् ।समितिका सभापतिहरु घनश्याम दाहाल, माधव प्रसाद पौडेल, रमा आले मगरले मासिक २५ हजार रुपैयाँका दरले घरभाडा रकम बुझेका छन् ।प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले पनि गत २०७७ बैशाख १५ गते सम्म समितिको सभापतिको रुपमा मासिक २५ हजार रुपैयाँ लिएका थिए । मन्त्री भएपछि भने उनले प्रदेशसभा सचिवालयबाट सो सुविधा लिएका छैनन् ।प्रदेशसभाका अन्य सदस्यहरुले मासिक १५ हजार रुपैयाँका दरकले घरभाडा सुविधा लिइरहेका छन् ।
यस्तो व्यवस्था व्यवस्था छ ऐनमा
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको सेवा सुविधालाई व्यवस्थित गर्न २०७५ मा ऐन निर्माण गरिएको छ । उक्त ऐन अनुसार नै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरुलाई सेवा सुविधा उपलब्ध गराएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार सभामुख र उपसभामुखका लागि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने र आवासीय भवनको मर्मत र सम्भार पनि सरकारले नै गर्ने व्यवस्था छ ।
त्स्तै, सभामुख र उपसभामुख बाहेक अन्य सदस्यको हकमा अनुसूची–१ मा उल्लेख गरिएअनुसारको व्यवस्था हुने भनिएको छ ।
अनुसूची–१ अनुसार, सभामुख र उपसभामुख बाहेकका सदस्यहरुको हकमा विपक्षी दलका नेतालाई २५ हजार रुपैयाँ, सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति, विपक्ष दलको प्रमुख सचेतकलाई २५ हजार रुपैयाँ, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतकलाई १५ हजार रुपैयाँ र प्रदेशसभाको सदस्यहरुलाई १५ हजार रुपैयाँका दरले आवास तथा घरभाडा बापतको सुविधाको व्यवस्था गरिएको छ । रातोपाटी डटकमबाट