हेटौंडा अस्पतालमा स्थापित अक्सिजन प्लान्ट उद्घाटन
मकवानपुर । हेटौंडा अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट आज (आइतबार) औपचारिक रुपमा सुभारम्भ गरिएको छ ।
उद्योग संघ मकवानपुरको पहलमा स्थापित प्लान सुभारम्भ गर्दै अस्पताल सञ्चालक संस्था मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । कुल एक करोड ४० लाख लागतमा अक्सिजन प्लान्ट स्थापना गरिएको जनाइएको छ ।
मकवानपुरमा कोरोना भाइरस संक्रमण बढेसँगै आइसीयु तथा भेन्टिलेटरमा राखेर उपचाररत् बिरामीलाई अक्सिजनको समस्या भएपछि अस्पतालमा प्लान्ट स्थापना गरिएको थियो ।
अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १ सय २० वटा सम्म अक्सिजन सिदिन्डर उत्पादन गर्ने जनाइएको छ । अक्सिजन प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।
प्लान्ट उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार राजेश प्रसाई, जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतको आतिथ्यता थियो ।