बंगलाचुलीमा राति मात्र टिपर सञ्चालन गर्न पाउने
मकवानपुर । बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगका चुनढुंगा ढुवानी गर्ने टिपर राति मात्र सञ्चालन गर्न दिने भएको छ। गाउँपालिकाकाबाट तीनवटा सिमेन्ट उद्योगका चुनढुंगा ढुवानी गर्ने टिपरलाई साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म समय निर्धारण गरेको छ।
वडा नम्बर ४ को कार्यालयले उक्त नियम साउन ३२ गतेदेखि लागु हुने जनाएको छ। टिपरले नागरिकलाई सास्ती दिएको भन्दै सञ्चालनका लागि रातिको समय तोकिएको वडाध्यक्ष नारायण डाँगीले बताए।
अव्यवस्थित रूपमा टिपर सञ्चालन हुँदा घोराही मुर्कुटी तापा सडकखण्डमा यात्रा गर्ने यात्रुहरूलाई निकै सास्ती हुने गरेको भन्दै यस क्षेत्रका नागरिकले वडा कार्यालयमा निवेदन दिएका थिए। गाउँपालिकाबाट घोराहीमा रहेको सगरमाथा सिमेन्ट, लमहीको सतवरीयामा रहेको सम्राट र शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्न दैनिक सयौँका संख्यामा टिपर चल्ने गरेका छन्।
उक्त सडक खण्डमा चल्ने टिपरहरुले स्थानीयहरुका पशु चौपाया, कुखुरा, कुकुर मारिदिने र घाइते बनाइदिने गुनासो छ। यस्तै‚ पैदल यात्री, साना गाडीमा सवार नागरिकलाई पनि ठक्कर दिन खोज्ने र कतिपयलाई घाइते समेत बनाएको स्थानीय तुलसीराम रावतले बताए। टिपरहरुले पैदल यात्रीलाई हिलो छयाप्ने, ओभर स्पीड चलाउने, सहचालकले चलाउने गरेको स्थानीय छविलाल डाँगीले बताए।थाहाखबर डटकमबाट











































