सिसडोल जाने सडक बिग्रिएपछि उपत्यकाको फोहोर उठ्न नसकेकाे हाे: मेयर शाक्य
मकवानपुर। फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।हाल काठमाडौं उपत्यकाका विभिन्न शहरहरुमा फोहोर थुप्रिएका छन् भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढिरहेको छ ।बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा विग्रिने हुँदा सहज रुपमा गाडी जान नसकेका कारण फाहोर व्यवस्थापन गर्न नसकेको बताए ।उनले वर्षात् रोकिएमा सहज रुपमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने पनि स्पष्ट पारे ।उनले भने, ‘वर्षात्को कारणले जहाँ सिसडोलमा फोहोर व्यवस्थापन गरिरहेका छौँ, त्यहाँ गाडी जानसक्ने स्थिति रहेन । हिजो पहिरो गएर बाटोको समस्या रह्यो, पहिरो पन्छाइसकेका छौँ । सहज रुपमा गाडी जान सकेका छैनन् । त्यसकारण जुन मात्रामा फोहोर संकलन गरेर त्यहाँ व्यवस्थापन गर्नुपर्ने हो त्यो भइरहेको छैन । हरेक वर्षात्मा यस्तै केही दिनमा समस्या देखिन्छन् । पानी पर्न रोकियो भने हामी सहज रुपमा गाडी पठाउन सक्छौँ । पानी रोकिएन भने अझैपनि केही दिनसम्म यस्तो समस्या नपर्ला भन्न सकिदैँन ।’मेयर शाक्यले बञ्चरेडाँडाँको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकार सँग माग गरे । त्यस्तै सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने बाटो पनि सडक विभागले छिट्टै बनाइदिए फोहोरको समस्या समाधान हुने उनको भनाई थियो ।नेपालप्रेस डटकमबाट