राप्रपाका तीन अध्यक्ष र चेम्बर अफ कमर्सका अधिकारीबीच भेटवार्ता

लोकखबर
३ भाद्र २०७८, बिहीबार ११:४८

मकवानपुर । राप्रपा नेपालका तीन अध्यक्ष र र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
भेटमा नेपाली उद्योगी व्यवसायीका समस्या, कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव, अर्थतन्त्र उकास्न निजी क्षेत्रका प्रयास र राप्रपाले आगामी दिनमा समेट्नु पर्ने विषयमा रणनीतिक छलफल भएको छ। नेपाल चेम्बर अफ कमर्सको कार्यालयमा भएको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक क्षेत्रको बिकासको लागि कृषिलाई प्राथमिकता दिनु पर्ने बताए। नेपालले वर्षेनी खरबौं मूल्यका खाद्यान्न लगायत कृषिजन्य वस्तुहरु आयात गरिरहेको पृष्ठभूमिमा कृषिको सम्भाव्यता प्रचुर मात्रामा रहेकोले कृषिलाई प्राथमिकता दिन र कृषिको उत्पादकत्ममा वृद्धि गरी उत्पादनलाई बजारसँग संयोजन गर्नु पर्ने आवश्यकता रहेको बताए। राप्रपाले निकट भविष्यमा तर्जुमा गर्न लागेको आर्थिक नीतिका लागि उक्त पार्टीले निजी क्षेत्रको अवधारणाबारे जानकारी लिने क्रममा चेम्बरमा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले कोभिडको राहत प्याकेज ग्रामीण स्तरमा पुग्न नसकेको बताउँदै विदेशबाट सीप सिकेर आएका युवाहरुको सीप उपयोगका लागि न्युनतम व्याजदरमा कर्जा उपलब्ध हुनु पर्ने बताए।
यसका साथै घरजग्गा कारोबारलाई व्यवस्थित गर्न ब्रोकर लाइसेन्सको व्यवस्था, बिदेशी लगानीमा स्थापना हुने उद्योगमा पिपिपि मोडलमा जनस्तरमा लगानीको प्रावधान गरिनु पर्ने बताए।उक्त अवसरमा राप्रपा अध्यक्ष कमल थापाले चेम्बरका सुझावहरु निकै उपयोगी भएको र चासोका साथ लिएको बताँउदै पार्टीको आर्थिक घोषणापत्र तर्जुमा गर्ने क्रममा चेम्बरबाट प्रस्तुत गरिएका सुझावहरुलाई मनन गरिने बताए।अर्का अध्यक्ष अध्यक्ष पशुपति शमशेर जबराले आर्थिक विकासका सवालमा निजी क्षेत्रको अहम् भूमिका हुने मान्यता सहित खुला बजार अर्थ नीति तथा संगठित क्षेत्रमा निजी क्षेत्रको सहभागिता हुनु पर्ने बिश्वास राष्ट्रिय प्रजातन्त्र पार्टीको रहेको बताए। अर्का अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले चेम्बरबाट प्रस्तुत सुझावहरुवारे जिज्ञासा रोखका थिए। सो अवसरमा राप्रपा आर्थिक विभागका संयोजक उद्धव पौडेल र कार्य सम्पादन समितिका सदस्य मोहन श्रेष्ठको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, तथा चेम्वर कार्य समिति सदस्य पर्शुराम दाहाल, राजारत्न तुलाधर, दीपक काजी तुलाधर र राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो।
राप्रपाले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसँग छलफल गरेको थियो।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*