बसबरिया गाउँपालिकामा दुई दिनदेखि कामकाज ठप्प

लोकखबर
२०७८ भाद्र ४, शुक्रबार १३:१२

मकवानपुर । बसबरिया गाउँपालिकामा दुई दिनदिख कामकाज ठप्प छ। नेकपा माओवादी केन्द्रका स्थानीय नेता रामविश्वास राय, चनु राय, उदय रायसहितको समूहले बुधबार दिउँसो कार्यालयमा प्रवेश गरी दुर्व्यवहार गरेकाले काम ठप्प पारेको कर्मचारीले बताएका छन्।
गाउँपालिकाको उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झा, सहजकर्ता राश नारायण राय र राकेशकुमार यादव, सूचना प्रविधि अधिकृत सुजितकुमार कर्ण, पञ्जीकरण शाखाका प्रमुख राजिवकुमार यादव, फिल्ड सहायक सन्जयकुमार पण्डितलगायतका कर्मचारीमाथि दुव्यर्वहार भएको उनीहरूले बताएका छन्। शान्तिपूर्वक तरिकाले काम गर्ने वातावरण नहुन्जेलसम्म कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने उनीहरुले बताएका छन्।
उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई जबरजस्ती तानेर धकेल्दै बाहिर निकालेको बताए। त्यस क्रममा सर्ट च्यात्तिएको उनले गुनासो गरे।
गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले आफू र प्रमुख प्रशासकीय अधिकृत मलंगवामा भएका बेला माओवादीका नेता कार्यकर्ताले कर्मचारीमाथि गरेको दुर्व्यवहारले आफू दुःखी भएको बताए। आफूसँग कुरा गर्नुको साटो कर्मचारीलाई गालीगलौज गरेको भन्दै उनले यस्ता अमानवीय व्यवहारको निन्दा गरेका छन्।यता, दुर्व्यवहारको आरोप लागेका नेकपा माओवादी केन्द्रको रामविश्वास रायले भने सबै कर्मचारीलाई एकै ठाउँमा जम्मा पारेर अनियमितताबारे केही कुरा राख्न खोजेको बताए। रायले कुनै कर्मचारीलाई दुर्व्यवहार नगरेको दाबी गरे।
उनले कर्मचारीप्रति आफूहरूको कुनै पूर्वाग्रह नरहेको बताउँदै गाउँपालिकामा अनियमितता भएको र आफ्ना नातागोतालाई नियुक्ति गरिएको आरोप लगाए। रायले धेरै समयदेखि गाउँपालिकाको हिसाबकिताब मागेको भए पनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकीय अधिकृतले आलटाल गरिरहेको समेत जिकिर गरे।दुई दिनदेखि गाउँपालिका कार्यालयको काम काज बन्द हुँदा सेवाग्राही भने मर्कामा परेका स्थानीयवासीले गुनासो गरेका छन्।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको