धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका कार्यकारी प्रमुख साउँदलाई कारबाही गर्न निर्देशन

मकवानपुर । संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेका पदाधिकारीहरूले पदीय आचरण विपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले पदीय आचरण विपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यहरूको नाममा खरिद गरेर पदीय आचरण विपरित काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो।नियामक निकाय आफैले पदीय मर्यादा विपरित सेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।
उनले भने,‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरूले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानबिन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवज्यूबाट प्राप्त भएको छ।
उक्त छानबिन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।’बैठकले सेयर बजारको दीगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शीता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जवाफदेहिता प्रवर्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकमा समितिका सदस्यहरूले पूँजी बजारको नियामक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वास योग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए।समितिकी सदस्य रामकुमारी झाँक्रीले नेपाल धितोपत्र बोर्ड र नेप्से जस्तो पूँजी बजारको नियामक निकायलाई पारदर्शी र जवाफदेही बनाउनेगरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन्। उनले बोर्ड र नेप्सेका पदाधिकारीहरूलाई पदमा बहाल रहुँञ्जेल पूँजी बजारमा कारोबार गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिइन्।समितिका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। उनले सेयर बजारमा सर्वसाधारणको विश्वास आर्जन गर्ने गरी नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुनेमा जोड दिए।
समितिका सदस्य श्यामकुमार श्रेष्ठले पूँजी बजारभित्र देखिएका बेथितिको अन्त्य गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए। उनले पूँजी बजारमा नियामक निकाय आफैले कारोबार गर्न पाउने व्यवस्था उचित नभएकोतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए।
बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरूले पदीय मर्यादा विपरित काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाए।
ढुंगाना र साउँदले पदीय मर्यादा विपरित आफ्ना परिवारका सदस्यलाई सर्वोत्तम सिमेन्टको सेयर खरिद गराएको समाचार विभिन्न समाचार माध्यममा आएपछि अर्थ समितिले सो सम्बन्धमा सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको थियो।
अर्थमन्त्री शर्माले नियामक निकायबाटै सेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रिस्तरीय निर्णय गरेर छानबिनका लागि पाँच सदस्यीय समिति समेत बनाएको जानकारी दिए। थाहाखबर डटकमबाट