खाने तेलमा रङ मिसाएर बेच्नेलाई एक वर्ष कैद र ४० हजार जरिवाना

लोकखबर
२०७८ भाद्र ४, शुक्रबार १६:२९

मकवानपुर । तोरीको तेलमा अखाद्य रङ मिसाउने खैरहनी नगरपालिका–६ स्थित ओमकार आयल इण्डष्ट्रीजलाई चितवन जिल्ला अदालतले दोषी ठहर गरेको छ।
अदालतमा मुद्दा दर्ता भएको डेढ वर्षमा अदालतले उद्योगलाई दोषी ठहर गर्दै एक वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ। न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले ओमकार आयल इण्डष्ट्रीजका सञ्चालक राम श्रेष्ठलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको हो।
ओमकार आयलको उत्पादन त्रिवेणी ब्रान्डको तोरीको तेलमा अखाद्य रङ मिसाइएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले ०७६ पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै २०७५ फागुन २३ गते उद्योगको अनुगमन गरेको थियो। प्याकिङ गर्नु अघि र प्याकिङ भइसकेको तेलको नमुना लिएर विभागले आफ्नै प्रयोगशालामा तेलको गुणस्तर परीक्षण गर्दा रङ भेटिएको थियो।
अखाद्य तेल उत्पादन एवं बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म जेल सजाय र ५० हजार रूपैयाँसम्म जरिवाना लगाउन सकिने कानुनी व्यवस्था छ। कानुन भए अनुसार अधिकतम् सजायको माग दाबी गरिएकोमा अदालतले भने जम्मा एक वर्ष कैद हुने गरी सजाय तोकेको हो।
एक वर्ष कैद बराबर रकम बुझाएर उद्योगका सञ्चालक श्रेष्ठले सुविधा लिएका छन्। उनले कैद अवधिको प्रतिदिन तीन सय रुपैयाँ बुझाएर सुविधा लिएका हुन्। यसअघि अदालतले प्रतिवादीलाई तीन लाख रुपैयाँ धरौटी लिएर छाडेको थियो। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको