बाढीले बेनीमा एक घर बगायो, जोखिममा २२ घर
मकवानपुर । बेनी नगरपालिका(३ दुधेखोलामा आएको बाढीले एक घर बगाएको छ। २२ घर जोखिममा परेका छन्।
आइतबार राति आएको बाढीले स्थानीय दीपा पुनको घर बगाएको हो। राति ११ बजेपछि आएको बाढीले घरमा क्षति पुर्याउन थालेपछि तीनजना परिवार राति नै घर छोडेर आफन्तकोमा सरेकाले मानवीय क्षति भने भएको छैन। बाढीले घरमा रहेका लत्ता कपडा,खाद्यान्न र पशु चौपायासमेत बगाउँदा करिब १७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय नारायण पुनको एउटा दुहुनो भैंसी खोलामा मृत भेटिएको छ।
भकिम्लीको लहरेनी र चिनाखेतको सिमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकाले खोलामा आएको बाढी वस्तीतर्फ सोझिएपछि क्षति भएको बेनी(३ का वडासदस्य तथा स्थानीयवासी गेमप्रसाद घर्ती मगरले बताए। उनका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने नारायण पुन र तीलाराम थापाको घर बस्नै नसकिने गरी उच्च जोखिममा छन्।घर्तीका अनुसार तल्लो र उपल्लो गरी दुई भागमा बाँडिएको गाउँमा ४५ घर परिवारको बसोबास रहेको छ। दुधेखोला र म्याग्दी नदीको कटानका कारण सम्पूर्ण घरपरिवार उच्च जोखिममा रहेका उनले बताए। बाढीले दुधेखोलादेखि करिब ८०० मिटरको दूरीमा रहेको वस्ती कटान गरेको छ। दुधेखोला र कोप्रे खोलाको बीचमा रहेको बस्ती दुवैतिरबाट कटानमा परेकाले असुरक्षित बन्दै गएको उनले बताए।
सडक अवरुद्ध
बाढीका कारण मंगला गाउँपालिका र बेनी नगरपालिकाका चारवटा वडालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक अवरुद्ध भएको छ। खानेपानीको पाइप बगाएपछि धारामा पानी आएको छैन भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ। स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ। सुर्केमेलाबाट बेनी ढुवानी हुने दूध र तरकारी पनि ढुवानी हुन सकेको छैन।
दुधेखोलाको बाढीले म्याग्दी नदी बग्ने ठाउँलाई साँघुरो बनाइदिएको छ। लेदो र ढुङ्गा नदीमा थुप्रिँदा तलाउ बनेको छ। जसका कारण म्याग्दी नदीको पारीको वस्ती चुत्रेनी पनि जोखिममा परेको स्थानीयले बताएका छन्।
स्थानीयवासीहरुल जोखिमयुक्त घरका सामान सुरक्षित रहेका घरमा सारेका छन्। अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा घटनास्थल पुगेको छ। टोलीले क्षतिको विवरण संकलन गर्नुका साथै जोखिमयुक्त घरपरिवारका व्यक्ति र सामानहरुलाई सुरक्षित स्थानमा सार्ने प्रहरी निरिक्षक केसीले बताए।थाहाखबर डटकमबाट