सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, गरैया टापुका २५ परिवारलाई उद्धार गरिँदै
मकवानपुर । सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । लगातारको वर्षासँगै पछिल्ला दिनमा बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ५२ मध्ये ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । सप्तकोशीमा बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । जोखिमबारे सूचित गर्न रातो बत्ती बालिएको छ ।पूर्वका अधिकांश भेगमा वर्षा भइरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ ।स्थानीय प्रशासनले जोखिमलाई ध्यान दिँदै सतर्क रहन स्थानीयबासीलाई अनुरोध गरेको छ ।
यसैबीच निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । यसअघि कटान भएका ठाउँमा पुनस् कटान शुरू भएको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ ।नेपालप्रेस डटकमबाट