पाल्पास्थित सिद्धार्थ राजमार्गको ठाउँठाउँमा पहिरो, दुई दिनदेखि अवरुद्ध

लोकखबर
१४ भाद्र २०७८, सोमबार १२:०७

मकवानपुर । अविरल वर्षासँगै झरेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। आइतबार बिहानदेखि अवरुद्ध राजमार्ग अहिलेसम्म सुचारु हुन सकेको छैन।
राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ। पाल्पा(बुटवल सडकखण्डअन्तर्गत तानसेन नगरपालिका(८ डुम्रेमा माथिबाट आएको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। आइतबार बिहान साढे १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।सोमबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। माथिबाट भीषण पहिरो खसेको छ। पानी परिरहेको र पहिरो खस्नेक्रम नरोकिएकाले राजमार्ग सुचारु गर्न समस्या भएको त्वातीले बताए। कतिबेला राजमार्ग सुचारु हुन्छ भन्नेबारे अन्योल रहेको उनले बताए।
पहिरोले सोही ठाउँ बस्ने देवबहादुर सारुको २ तल्ले पक्की घर समेत बगाएको छ। अन्य तीन घर जोखिममा परेका छन्।
यता, सिद्धार्थ राजमार्गअन्तर्गत गौडेपुलमा समेत पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। सोमबार बिहान खसेको पहिरो खुलाउने अहिलेसम्म सुरसार छैन। पहिरोका कारण डोजर लैजान समास्या भइरहेको त्वातीले बताए। यद्यपि राजमार्ग खुलाउने प्रयास भइरहेको छ। यस्तै, सिद्धबाबामा पनि पहिरो खसेको उनले बताए।विभिन्न ठाउँमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध भएपछि सयौं गाडी र यात्रु बीच बाटोमा अलपत्र परेका छन्। आइतबारदेखि ती यात्रु गन्तब्यमा पुग्न पाएका छैनन्।
पानी परिरहेको र राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्नेक्रम नरोकिएकाले नजिकको प्रहरी कार्यालयमा जानकारी लिएर यात्रा गर्न त्वातीले सबैसँग अपिल गरे।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *