एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे, अष्टलक्ष्मी नेतृत्वको सरकारलाई समर्थन नदिने

मकवानपुर । नेकपा एकीकृत समाजवादीले पार्टीको औपचारिकता पाएपछि आज बसेको बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ ।
प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आज आइतबार बसेको संसदीय दलको बैठकले धादिङ जिल्ला प्रतिनिधीसभा १ अन्तर्गत प्रदेशसभा १ बाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो ।
संसदीय दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदको उपस्थिती रहेको प्रदेशसभाका सदस्य एवम् एकीकृत समाजवादीका केन्द्रिय सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।
यस्तै, बैठकले बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफूहरुको पार्टीको समर्थन नभएको निर्णय पनि गरेको छ । सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बारेको जानकारी प्रदेशसभा सचिवालय र सरकारको मुख्यमन्त्री कार्यालयलाई आजै जानकारी गराउने निर्णय पनि एकीकृत समाजवादीले गरेको छ ।
यस्तै, एकीकृत समाजवादीको प्रदेश संसदीय दलको विधान पारित गरेको छ भने पार्टीका लागि कार्यालय उपलब्ध गराउँन बागमती प्रदेशसभा सचिवालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
आज आइतबार निर्वाचन आयोगबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरुको नामावलीसहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा प्राप्त भई दर्ता भएपछि बैठक बसेको हो ।
बागमती प्रदेशसभामा निर्वाचन आयोगले समाजवादीलाई आधिकारिता दिएसंगै प्रदेशसभामा आवद्ध दलको संख्या पनि ८ पुगेको हो ।
बागमती प्रदेशसभामा एमाले ४३ सांसद्का साथ पहिलो, २३ सांसद्का साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसद्का साथ नेपाली कांग्रेस तेस्रो, १३ सांसद् सहितको नेकपा एकीकृत समाजवादी चौथो, ३ सांसद् भएको विवेकशील साझा पार्टी पाँचौं, २/२ सांसद् रहेका राप्रपा र नेमकिपाका क्रमश : छैठौं र सातौं स्थानमा छन् । प्रदेशसभामा एक जना सांसद स्वतन्त्र हैसियतमा रहेका छन् ।
प्रदेशसभा सचिवालयमा नेकपा एमालेको विभाजनपछि बनेको एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदले पनि आधिकारिकता पाएका छन् ।
एमाले परित्याग गरी एकीकृत समाजवादीमा सनाखत गरेका राजेन्द्र पाण्डे, बसन्त मानन्धर, बसुन्धारा हुमागाई, रामा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीलाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको हो ।